धरान । वडास्तरीय मेयर कप बास्केटबल प्रतियोगिताको उपाधि धरान–१७ ले जितेको छ ।

धरान–१७ स्थित श्री माविको बास्केटबल कोर्टमा आइतबार सम्पन्न फाइनलमा धरान–१७ ले धरान–१५ लाई ७९–७६ झिनो अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै धरान–१७ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको धरान–१५ ले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाएको प्रतियोगिताका व्यवस्थापक हराइजन क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए । उनका अनुसार धरान–१७ ले प्रत्येक क्वार्टरमा १०–२९–१५–२५ र धरान–१५ ले १७–१२–२५–२२ अङ्क बटुलेको थियो ।

खेलमा सर्वोत्कृष्ट खेलाडी धरान–१७ का कविन मगर घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाए । उनले खेलमा व्यक्तिगत ३५ अङ्क जोडेका थिए । त्यस्तै उदयीमान खेलाडी धरान–१७ कै सविन राई घोषित हुँदै नगद ३ हजार रुपैयाँ पाए । यस्तै फाइनल खेलको म्यान अफ दी म्याच धरान–१५ का सन्तोष तामाङ घोषित हुँदै नगद १ हजार रुपैयाँ पाए । प्रतियोगितामा धरानका ९ वटा वडाले प्रतिस्पर्धा गरेका थिए ।

धरान उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सियोन स्कुल मुख्य प्रायोजक रहेको थियो । प्रतियोगिताका विजेतालाई धरान उपमहानगरका प्रमुख तिलक राई र सियोन स्कुलका व्यवस्थापक एलकन मगरले नगदसहित ट्रफी प्रदान गरेका थिए ।