भद्रपुर । मुलुक सङ्घीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित झापाका १५ वटै पालिकामा निर्वाचन अधिकृतहरूसमेतको टुङ्गो लागेको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद निरौलाका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी गिरीराज गौतमलाई प्रदान गरिएको छ । गौतम जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश हुन् । भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारीसमेत मुख्य निर्वाचन अधिकृत गौतमले नै सम्हाल्ने छन् ।
यसैगरी मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी वेदराज फुयाँललाई दिइएको छ । बिर्तामोड नगरपालिकामा डम्बरप्रसाद काफ्ले, कन्काई नगरपालिकामा दीपक कोइराला, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल, अर्जुनधार नगरपालिकामा लोकबहादुर कट्वाल, गौरादह नगरपालिकामा विदरुकुमार कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ भने दमक नगरपालिकामा केशवप्रसाद पन्तलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ७ वटा गाउँपालिकामा समेत निर्वाचन अधिकृत तोकिएको छ । प्रकाश गौतमलाई कमल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने गौरीगञ्ज गाउँपालिकाको निर्वाचन अधिकृतको नेतृत्व भेषराज कोइरालाले पाएका छन् ।
पुष्करराज प्रसाईंले बाह्रदशी गाउँपालिका, मानबहादुर घिमिरेले झापा गाउँपालिका, डम्मरुप्रसाद निरौलाले बुद्घशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराईले हल्दीबारी गाउँपालिका र वीरेन्द्रबहादुर बस्नेतले कचनकवल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्नेछन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा दुई–दुईजना महिला निर्वाचन अधिकृत पाएका झापाका पालिकाहरूले यो पटक एकजना पनि महिला निर्वाचन अधिकृत प्राप्त गर्न सकेनन् । २०७४ साल वैशाख ३१ गते भएको पहिलो स्थानीय तहको चुनावका लागि जिल्लाकै जनसङ्ख्या र भूगोलका आधारमा सबैभन्दा ठूलो मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मा र गौरादह नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी शकुन्तला कार्कीलाई प्रदान गरिएको थियो ।
मुख्यः निर्वाचन अधिकृत गौतमले अन्य निर्वाचन केन्द्रमा खटिएका अधिकृतसँग समन्वय गर्ने जनाए । भद्रपुर नगरपालिका भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ भद्रपुरमा रहनेछ । १४ जना निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना हुने निर्वाचन कार्यालय झापाले जनाएको छ ।
निर्वाचन अधिकृतसँगै सहायक निर्वाचन अधिकृत, कम्प्युटर प्राविधिक, नायव सुब्बा, खरिदार, चालक र लेखापालसमेत रहने छन् । दैनिक कार्य सम्पादन गर्नका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा बिहीबार स्थापना गरिनेछ ।