विराटनगर । सुनसरी इनरुवा–५ की अंशु खतिवडा ६ वर्षकी भइन् । जन्मजातै उनको बायाँपट्टि हातको कुइनोभन्दा तलको भाग छैन । कक्षा १ मा पढ्दै आएकी अंशुलाई नियमित पठन–पाठनमा समस्या थियो । कृत्रिम हात चलाउन पाउने भनेपछि दङ्ग थिइन्; उनी ।
विराटनगरस्थित न्यूरो अस्पतालमा बुधबार आमा इन्दिरा आचार्य खतिवडासँग आएर कृत्रिम हात हालेपछि त्यसलाई कसरी चलाउने भनेर उनी निकै आतुर देखिइन् । अंशुसँग अहिले उनका स्कुले साथी पनि खेल्न आउँछन् ।
आमा इन्दिराका अनुसार अंशु सबैभन्दा बढी लेख्न सक्छु भन्नेमा खुसी देखिएकी छन् । विराटनगर–१ पोखरीयाका ३० वर्षीय मौसम खड्का कृत्रिम हातले जीवनमा नयाँ उमङ्ग दिएको बताउँछन् । उनले कृत्रिम हात लगाउनासाथ बोतलको बिर्को समातेर लगाए । प्लाष्टिकको बाल्टिन पनि उठाए ।
१५ वर्षअगाडि प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा दुर्घटनामा पर्दा उनको दायाँ हात गुमेको थियो । ‘एकपटक मरेर बाँचे पनि अरूको बोझ हुन्छु भन्ने लागेको थियो । अहिले ममा आशा पलाएको छ’ कृत्रिम हात लगाएपछि हर्षित हुँदै उनले भने, ‘हात गुमाएको त्यो क्षण बिर्सन थालेको छु ।’ सामान्य मानिसजस्तै अहिले हातले काम गर्ने गरेको उनले सुनाए ।
‘आफ्नो गुमे पनि कृत्रिम हात पाएपछि घरमा आवश्यक पर्ने सामग्रीहरू अब आफै बजार गएर ल्याउनेछु’ उनले भने, ‘सामान उठाउन मिल्दो रहेछ ।’ हात गुमाए पनि ज्यान बचाएका उनी जीवन यत्तिकै रहेछ भनेर हरेस खाइरहेका बेला कृत्रिम हात लगाइरहँदा हर्षित मुद्रामा देखिन्थे । उनी भन्छन्, ‘कृत्रिम हात पाएपछि सग्लो मान्छेजस्तै हिँडडुल र काम गर्न सक्ने भएको छु ।’
सवारी साधन आफै चलाएर बजार जाने गरेको उनले बताए । ‘कृत्रिम हात लगाएपछि हलुका पनि हुँदो रहेछ’ उनले भने, ‘कति सजिलो छ । जत्ति दुःख भोग्नु थियो भोगेँ ।’
इलामको देउमाई नगरपालिका–९ का १२ वर्षीय विनायकजङ विश्वकर्मा पनि कृत्रिम हात लगाएपछि खुसी देखिए । कक्षा ६ मा अध्ययनरत विनायकको पनि जन्मजात दायाँ हातको कुइनोदेखि मुनिको भाग छैन । बुबा हर्कबहादुरसँग आएका उनी कृत्रिम हात लगाएपछि खेल्न आतुर देखिन्थे ।
बुबा हर्कबहादुरका अनुसार हात लगाएर गाउँ पुगेका उनलाई हेर्न साथीहरूको लर्को लागेको थियो । अहिले आफूलाई सघाउने गरेको उनी बताउँछन् । अंशु, मौसम, विनायकजङको अनुहारमा खुसी ल्याइदिने काम रोटरी क्लब अफ विराटनगर र करुणा फाउन्डेसनले गरेको छ । बुधबारसम्म ५० जनाको हात लगाउने काम सकिएको छ । अझै एकसय १० जना लाइनमा रहेको रोटरी क्लब अफ विराटनगरले जनाएको छ ।
कृत्रिम हात लिएर जर्मनी संस्था ह्यान्ड प्रोजेन्ट द टिम बेनिफिटका प्राविधिक टोली विराटनगर आइसकेको छ । यसका लागि आवश्यक कोठाहरू र प्राविधिक सहयोग न्यूरो अस्पतालले गरेको छ ।
बिहीबारसम्म सञ्चालन हुने निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर १ सय १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई कृत्रिम हात लगाइदिने लक्ष्य लिएको क्लबका सचिव मनोजविक्रम शाहले जानकारी दिए । कृत्रिम हातले १० केजी तौल उठाउन मिल्ने जनाइएको छ ।
शिविरमा मोरङबाट २५, सुनसरी २, धनकुटा ५, इलाम ५, पाँचथर १० जना अपाङ्गता भएका व्यक्तिहरू कृत्रिम हात लगाउन शिविर आएका थिए । ६ महिनाको तयारीपश्चात् कृत्रिम हात लगाइदिने शिविर आयोजना गरिएको रोटरी क्लबका सर्भिस चियर तथा कार्यक्रम संयोजक सरिता अग्रवालले बताइन् ।