देउराली । कांग्रेस नेता महेश आचार्य अर्थमन्त्री हुँदा उनकाे प्रस्तावमा तात्कालीन सरकारले राष्ट्र बैंकका गभर्नर हटाएपछि सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि आचार्य राजीनामा दिएका घटना सम्झदै अप्रत्यक्ष रूपमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीना दिनुपर्ने सुझाव दिएका छन् ।
उनले ट्वीटर मार्फत आचार्यकाे तस्विर राखेर भनेका छन् ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्, नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति । समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’
आचार्यले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएका थिए । 
ठिक त्यस्तै घटना अहिलेका अर्थमन्त्री शर्माले झेलिरहेका छन् । उनकाे प्रस्तावमा निलम्बन परेका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलवार सर्वोच्च अदालतले सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले हिजो अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश दिएको हो । आज अधिकारी कार्यालय फर्किएपछि अर्थमन्त्री शर्मा माथि नैतिकताकाे प्रश्न उठेकाे छ । अधिकारी राष्ट्रिय बैक फर्किएसंगै अर्थमन्त्री शर्माले नैतिकताका आधारमा पनि राजीनामा दिन चौतर्फी दबाब परेको छ ।
 
                     
         
                                        
                                                                                                 
        































