विजयपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बेलका नगरपालिका प्रमुख र उपप्रमुख पदको लागि जम्बो नाम सिफारिस गरिएको छ ।
बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको प्रमुख पदको उम्मेदवारका लागि १० जना र उपप्रमुख पदको लागि ७ जनाको नाम सिफारिस गरिएको एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेतले बताए । उनका अनुसार चैत ३० गते पार्टीले वर्तमान नगरप्रमुख दुर्गा थापा, उपप्रमुख राजकुमारी चौधरी सहित जिल्ला युवा तथा खेलकुद विभाग सचिव मोहन खड्का, जिल्ला कमिटी सदस्य मोहनप्रसाद घिमिरे, प्रदेश कमिटी सदस्य धनपति आचार्य, नगर अध्यक्ष गणेश बस्नेत, टिकाराम थामी, नारद निरौला, सुरेन्द्र बस्नेत र सुरेन्द्र राईलाई प्रमुख पदका लागि सिफारिस गरिएको छ ।
त्यस्तै उप्रप्रमुख पदमा खेमराज निरौला, गितादेवी निरौला, जिरा राई, पुणर्कला बञ्जरा, यशोधरा पोखरेल, सिर्जना तामाङ र सिता राईको नाम सिफारिस गरिएको छ । उनले आकाङ्क्षी भएका जतिको नाम जिल्लामा पठाएको बताए । २०७४ को स्थानीय निर्वाचनमा बेलका नगर प्रमुख, उपप्रमुखसहित ६ वटा वडामा एमालेले जीतेको थियो । काङ्ग्रेसले २ वटा र माओवादी केन्द्रले १ वडा जीतेका थिए । बेलका नगरपालिकामा ५१ हजार ४ सय ५८ जनसङ्ख्या रहेका छ भने ३३ हजार ६ जना मतदाता रहेका छन् ।