धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दुई वर्षको कार्य प्रगति विवरण सार्वजनिक भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आफु उपकुलपति भएपछि गरेका कामको विवरण सार्वजनिक गरेका हुन् । गिरी विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त भएका थिए । उनले बुधबार  जारी गरेको विवरणमा प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासनसमेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको उल्लेख छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको दाबी छ ।

अस्पताल सेवातर्फ कोभिड–१९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको, कोभिड नियन्त्रणका लागि यो अवधिमा अस्पतालले २७० शय्याको अस्पताल विस्तार गरेको, इमर्जेन्सी, ल्याब, रेडियोलोजी, अकुपेशनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको त्यस्तै मिर्गाैला पीडितका लागि २० शय्याको कक्ष निर्माण अन्तिम चरणमा रहेको विवरणमा उल्लेख छ । 

अस्पताललाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अस्पतालले मोबाइल एपबाटै ओपिडी बिरामीको दर्ता गर्नसक्ने, स्वास्थ्य बीमामा एपिआई सिस्टमबाट स्वतः दाबी गर्नसक्ने लगायतका व्यवस्था गरेको छ । अस्पतालको डिजिटलाइजेशनका लागि एकीकृत सफ्टवेयर विकास गर्ने प्रक्रिया सुरु गरेको अस्पतालले जनाएको छ । 

त्यस्तै ४०० शय्याको एमएचसी भवन निर्माण अन्तिम चरणमा रहेको, कार्डियोलोजी, अन्कोलोजी र ट्रमा सेन्टरको भवन निर्माणका लागि पहल गरिएको, बन्द रहेको फार्मेसी सेवालाई सुरु गरिएको तथा छुट्टै फार्मेसी भवन निर्माणको ८० प्रतिशत कार्यसमेत सम्पन्न भइसकेको प्रतिष्ठानले जनाएको छ ।  

यस प्रतिष्ठानले अस्पतालमा आउने मात्रै नभएर अस्पतालको पहुँच नभएका दुर्गम क्षेत्रका जनतालाई समेत टेलिमेडिसिन सेवा उपलब्ध गराएको छ । दुई वर्षको अवधिमा सुनसरी मोरङ र धनकुटाका झन्डै १२ हजारले यस्तो सेवा प्राप्त गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले बताए ।  

त्यस्तै अस्पतालमा रहेका पुरानो प्रणालीका ६० डेन्टल चेयरमध्ये ३० वटा विस्थापित गरी नयाँ प्रविधिको इलेक्ट्रिकल डेन्टल चेयर प्रतिस्थापन गरिएको छ । मेडिसिन र सर्जरी वार्डका सम्पूर्ण शय्यामा मेडिकल ग्यास पाइपलाइन जडान गरिएको, पेइङ वार्डका हरेक शय्यामा  पाइपलाइन पु¥याएर नियमित भेन्टिलेटरको व्यवस्था गरिएको सह–प्रवक्ता डा.पोखरेलले बताए । 

अस्पतालको सुधारका लागि नेपाल एडमिनिष्ट्रेशन स्टाफ कलेजसँगको सहकार्यमा पहिलो चरणको ओ एन्ड एम सर्भे गरिएको, प्रतिष्ठान विकास सुधारका लागि स्थानीयवासीको पहुँचका लागि ‘लोकल फ्रेन्ड्स अफ बिपिकेआइएचएस’ गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै अस्पतालको सेवा व्यवस्थापन तथा सेवाको दिगो सुधारका लागि अस्पतालका डेपुटी निर्देशक डा.विकास साहको नेतृत्वमा सुधार कमिटी गठन गरिएको, खानेपानी व्यवस्थापनका लागि दुईवटा डिप बोरिङका लागि ठेक्का प्रक्रिया अघि बढेको समेत उल्ल्लेख गरिएको छ । अस्पतालभित्रको उर्जा खपत व्यवस्थापनका लागि अनावश्यक खपत नियन्त्रणको कामसमेत गरिएको प्रतिष्ठानले जनाएको छ ।