वराहक्षेत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली काङ्ग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकार तीनै तहको निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् ।
शनिबार वराहक्षेत्रको वडा नं. १ को कार्यालय भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले त्यस्तो दाबी गरेका हुन् । राष्ट्रिय एकता, आन्तरिक सुदृढीकरण र राजनीतिक स्थिरताको लागि विशेष परिस्थितिमा विशेष उद्देश्यले गठबन्धन गरिएको भन्दै कार्कीले सरकार स्थिर रहने बताए । स्थिर देउवा सरकारको अन्तर्राष्ट्रियजगत्मा साख र विदेशी दातृनिकायमा विश्वसनीयता बढेको उनले बताए ।
एक फरक प्रसङ्गमा कार्कीले विपक्षी पार्टीले अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा जनतालाई भ्रम फिँजाएको आरोप लगाए । ‘भाषणले मात्र देश नचल्दैन, यसको लागि विकास चाहिन्छ, त्यसैले अवसरको रूपमा पाउने ६० अर्ब रुपैयाँलाई सरकारले पूर्वाधार विकासलगायत दिगो विकासको कार्यमा खर्च गर्नेछ’–उनले भने ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माले अरुण तेस्रोको उदाहरण दिँदै आयोजनामा अवरोध खडा गरेर तीस वर्षसम्म देशलाई चुर्लुम्म अन्धकार मा डबाउनेले नै एमसीसीको विरोध गरेको आरोप लगाए ।
अर्का विशिष्ट अतिथि १ नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले वर्तमान गठबन्धनको सरकार खिचडी सरकार भएको बताए । जालझेल गरेर आफ्नो सरकार ढालेको भन्दै छोटो कार्यकालले गर्दा केही गर्न नसकिएको बताए ।
प्रमुख अतिथि मन्त्री कार्कीले वडा कार्यालयलाई १२ कठ्ठा १ धुर तथा ट्राफिक कार्यालयको लागि ३ कठ्ठा जग्गा प्रदान गर्ने भीम, शिव र नेका नेता दीपक श्रेष्ठलाई सल ओढाएर सम्मान–पत्रले सम्मानित गरे । यसैगरी वडा नं. १ का उत्कृष्ट कर्मचारीहरू लक्ष्मण पौडेल, रबिना जोशी, गोपाल तामाङ, स्वास्थ्यकर्मी र शिक्षक गरी दर्जन बढीलाई सम्मान गरिएको वडाध्यक्ष सुरेश श्रेष्ठले बताए ।