धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटबल सङ्घको संयोजनमा सम्पन्न धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा र एम्स एकेडेमी भिड्ने भएका छन् ।

आयोजक धरान मेघाले डिपो स्कुललाई ५२ – ३४ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन । धरान मेघाको तर्फ वाट योगेश राईले उत्कृष्ट प्रदर्शन गर्दै धरान मेघालाई फाइनल यात्रा गराएका छन् । उनले ६ वटा थ्री पोइन्ट सहित व्यक्तिगत २७ अङ्क जोडेका थिए । खेलको पहिलो क्वाटरमा ९–१३ अङ्कको अन्तरले पछि परेको धरान मेघाले दोस्रो क्वाटरमा ११–२, तेस्रो क्वाटरमा २२–९ र चौथो क्वाटरमा १०–१० बराबर अङ्क जोडेका थिए । हार सँगै डिपो स्कुल सेमिफाइनल सम्मको यात्रा पछि प्रतियोगिता वाट बाहिरिएका छन् ।

यसै गरी सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा एम्स एकेडेमीले सियोन स्कुललाई ५१–४७ अङ्कको झिनो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । सियोनका साहिल तामाङले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले सियोनका लागि व्यक्तिगत २४ अङ्क जोडेका थिए ।

 अत्यन्त प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो क्वाटरमा एम्स १४–१० अङ्कले अगाडि रहेको थियो । दोस्रो क्वाटरमा सियोन स्कुल खेलमा फर्कँदै १५–१० अङ्क जोड्दै दोस्रो क्वाटरमा अग्रता बनाए  । तेस्रो क्वाटरमा एम्सले १९–६ अङ्कको फराकिलो अन्तर बनाउँदै तेस्रो क्वाटर सकिँदा एम्सले खेलमा अग्रता लियो । चौथो क्वाटरमा सियोनले १६–८ अङ्कको अग्रता बनाए पनि ४ अङ्कको अन्तरले पराजित हुँदै सियोन प्रतियोगिताबाट बाहिरिएको थियो । एम्सका तर्फ वाट सितम लिम्बुले व्यक्तिगत १८ अङ्क जोडेका थिए ।

दिवङ्गत उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा मंगलबार देखि प्रतियोगिता सम्पन्न भएको हो ।

 चैत्र १५ गते देखि सुरु भएका प्रतियोगिताका विजेताले नगद पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडीले नगद एक हजार ५ सय, उत्कृष्ट स्कोरले नगद १ हजार, कफी पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कफी पव थ्री पोइन्ट च्याम्पियनले नगद दुई हजार, ट्रफि र उदीयमान खेलाडीले ट्रफ्री, कफी पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल अघि कफी पव थ्री पोइन्ट कम्पिटिसन हुनेछ ।

शनिबार दिउसो १२ः३० बजे देखि सुरु हुने फाइनल खेलको समापन समारोहमा प्रदेश १ मुख्यमन्त्री माननीय राजेन्द्र राई प्रमुख अतिथिको रूपमा रहने आयोजकले जनाएको छ ।