डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो । 

खेलको ५९ औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उहाँको यही गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै पुलिस क्लबले शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

बुधबार भएको खेलको म्यान अफ दि म्याच पुलिसका खेलाडी निरकुमार घोषित भएका छन् । उनले रु दश हजार प्राप्त गरे । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ । 

प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार नगदसहित ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही रु २१ हजार प्राप्त गर्ने उनले जानकारी दिए।