विराटनगर । गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा दमक एकेडेमी झापालाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो ।

जितको लागि गोलबजारका कुलदेव कार्की, अलमान, सञ्जीव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन गोल गरेका थिए । जितसँगै गोलबजारले भोलि (शुक्रबार) हुने फाइनल खेलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफदेखि दबावमा राखेकोे गोलबजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरी अग्रता लिएको थियो । खेल सुरु भएको तीन मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । गोलबजारले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै सातौं मिनेटमा बिनु आलेले निकालिदिएको बल विदेशी खेलाडी अलमानले हेडमार्फत् गोल गरे ।

khel-mils

पहिलो हाफमा दुई गोल भएपछि दबावमा परेको झापाका राजन धिमालले खेलको १३ औं मिनेटमा गोल फर्काए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आत्मघाती गोल भएपछि गोलबजारले ३–१ गोलले अग्रता लियो । गोलबजारका सञ्जित कार्कीले दायाँ कर्नरबाट  गरेको प्रहार झापाका डिफेन्डर ओमप्रकाश तामाङले रोक्न खोज्दा गोलमा परिणत भयो ।

दोस्रो हाफदेखि एकपक्षीय खेल खेलेको गोलबजारले खेलको ५० औं मिनेटमा सुजित कार्कीले कर्नरबाट निकालिदिएको पास विदेशी खेलाडी अलमानले गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा नरेश राईले कर्नर साइडबाट निकालिदिएको क्रस पासमा सञ्जीव कार्कीले गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा गोलबजारका अलमानले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।

खेलको ७० औं मिनेटमा गोलबजारका सञ्जीव कार्कीको कडा प्रहार बाहिरियो । ७७ औं मिनेटमा झापाका राजन धिमालको प्रहार पोष्टमाथिबाट बाहिरियो । खेलको म्यान अफ दी म्याच तीन गोल गर्ने गोलबजारका विदेशी खेलाडी अलमान घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

mils-khel