धरान । धरानमा मङ्गलबारदेखि सुरु भएको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान आदर्श, एम्स र समिट स्कुल क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

मेघा हिमालयन कलेजको आयोजनामा सुरु भएको उद्घाटन खेलमा धरान आदर्शले होलील्याण्ड स्कुललाई ३७–२७ अङ्कले पराजित गरेको थियो । खेलमा धरान आदर्श र होलील्याण्डले प्रत्येक क्वार्टरमा ५–७, ७–३, ७–२ र १८–१५ अङ्क बनाएका थिए ।     

दोस्रो खेलमा एम्स एकेडेमीले कार्मेल स्कुललाई ७३–२७ अङ्कले पराजित गरेको थियो । एम्स र कार्मेल स्कुलले १८–५, १२–१२, १२–८ र ३१–२ अङ्क जोडेका थिए । तेस्रो खेलमा समिट स्कुलले आइडल स्कुललाई २९–७ अङ्कले पराजित गरेको थियो । खेलमा समिट र आइडल स्कुलले ५–१, ७–१, १०–० र ७–५ अङ्क जोडेका थिए ।

चैत १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद एक हजार ५ सय रुपैयाँ, उत्कृष्ट स्कोररले नगद १ हजार, कफी पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने छ । उत्कृष्ट स्कोरर र उदयीमान खेलाडीले ट्रफी, कफी पव फुड भौचर र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा पूर्वका विभिन्न जिल्लाका १६ टिमले सहभागिता जनाएका छन् ।