विराटनगर । ‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।

टाइब्रेकरमा पनि दुवै टिमले ५–५ को बराबारी खेलेपछि नतिजा सडन डेथबाट लिइएको हो । सडन डेथमा साइनोका निशान लिम्बू, निसन लिम्बू, कैलाश बस्नेत, दिवाकर चौधरी, मीन धिमाल, भूवन बस्नेत र दिनेश राईले गोल गरेका थिए । किसन सुब्बा र असिम राईको प्रहार उदयपुरका गोलकिपर करन राईले बचाउ गरिदिएका थिए भने खमीर गिल्सनको प्रहार बारमा लागेर बाहिरियो ।

उदयपुरका सुशन तामाङ, दिलकुमार तामाङ, देवराज चौधरी, रविशङ्कर चौधरी र रूपक फुयालले मात्र गोल गरे । साइनोका गोलकिपर एन्जल श्रेष्ठले उदयपुुरका चार जना खेलाडीको पेनाल्टी सुट बचाउ गरिदिए ।

दीपेश भूजेल, दीपक मगर, किरण राई र युवराज थापा मगरको प्रहार साइनोका गोलकिपर एन्जलले उत्कृष्ट बचाउ गरिदिए । खेलको म्यान अफ दी म्याच साइनोका गोलकिपर एन्जल घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । यसअघि उदयपुरका सुशन तामाङले खेलको १७ औं मिनेटमा वान भर्सेस वानमा प्रहार गरेको बल गोलमा परिणत भएको थिए ।

मुकेश माझीले निकालिदिएको पासलाई सुशनले मध्यभागबाट एक्लै बल अगाडि बढाएर गरेको प्रहारलाई साइनोका गोलकिपर एन्जल श्रेष्ठले ठम्याउन सकेनन् ।

खेलको अतिरिक्त समय ७२ औं मिनेटमा साइनोका भूवन बस्नेतले दिएको क्रस पासलाई आशिष राईले गोल गरी खेल बराबरीमा ल्याए । अन्तिमसम्म उदयपुरका खेलाडी सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ । साइनोको गोलपछि खेल रोमाञ्चक बन्न पुगेको थियो ।

दुवै टीमबीच निकै टक्कर भएको थियो । खेलको २२ औं मिनेटमा उदयपुरका दीपक मगरको फ्रिकिक प्रहार क्रसबारबाट बाहिरिन पुग्दा गोल गर्ने अवसर गुमाएका थिए । खेलको ४६ औं मिनेटमा उदयपुरका प्रतिम चौधरीको कडा प्रहार पोष्टमाथिबाट बाहिरियो । साइनोका दिनेश राईले ६० औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाले ।

६७ औं मिनेटमा उदयपुरका सुुशन तामाङको प्रहार बाहिरियो । थप गरिएको पाँच मिनेटको अतिरिक्त समयमा साइनोले गोल गरेपछि उदयपुर दबावमा देखियो । आज (सोमबार) को खेल साबिक विजेता एपीएफ पकली र गोलबजार प्रतिभा फुटबल क्लब सिरहाबीच हुनेछ ।

khel