विराटनगर । दमक एकेडेमी झापा दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

शनिबारको खेलमा एन्फा एकेडेमीले धरान सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा दमकका सोहन सिन्थाङ, दीपक थापा मगर, रमन राई र ओमप्रकाश तामाङले गोल गरे ।

धरानका राहुल लिम्बू, माल्दिना आङ्थाक र सविनाय कटुवालले मात्र गोल गरेका थिए । रितेस थापा मगर र सेवन थापा मगरको प्रहार दमकका गोलकिपर आयुष लिम्बूले उत्कृष्ट बचाउ गरिदिए । टाइब्रेकरमा दुई गोल बचाउने दमकका गोलकिपर आयुष म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे ।

खेलको २७ औं मिनेटमा दमकका राहुल लिम्बूले मध्यभागबाट एक्लै बल अगाडि बढाएर वान भर्सेस वानको प्रहारमा गोल गरेका थिए । दमकले अग्रता लिएको ८ मिनेट पनि बित्न नपाउँदै धरानका सोहन सिन्ताङले ३५ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । दमकका डिफेन्डर रोसन धिमालले हेडमार्फत् गोलकिपर आयुष लिम्बूलाई दिएका थिए । तर, किपरको हातबाट बल फुत्कियो ।

उक्त बललाई सोहनले गोलमा परिणत गरी खेल बराबरीमा ल्याएका हुन् । आक्रामक खेल खेलेका दुवै टिमले गोल गर्ने थुप्रै अवसर गुमाए । खेलको २५ औं मिनेटमा दमकका किस्मत लिम्बूले मध्यभागबाट एक्लै अगाडि बढाएको बललाई सबै डिफेन्डर बिट भइसकेको अवस्थामा पनि पोष्टमा प्रहार गर्न सकेनन् ।

३० औं मिनेटमा धरानका सोहन सिन्ताङले डिबक्सभित्रबाट गरेको कडा प्रहार पोष्टमाथिबाट बाहिरियो । ४७ औं मिनेटमा दमकका मल्दिना आङ्थापुले दोस्रो बार च्यापेर गरेको प्रहार बाहिरियो । ५९ औं मिनेटमा दमकका आयुष श्रेष्ठले डिबक्सभित्रबाट किपरलाई बिट मार्दै गरेको उत्कृष्ट प्रहार पोष्टमाथिबाट गएको थियो ।

६० औं मिनेटमा धरानका रोनिकराज मेन्याङ्वोको सशक्त प्रहार दमकका गोलकिपर आयुष लिम्बूले उत्कृष्ट बचाउ गरिदिए । आज (आइतबार) को खेल गाईघाट ११ उदयपुर र साइनो स्पोर्ट्स क्लब विराटनगर रानीबीच हुनेछ ।