धरान । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा धनगढीमा आज (सोमबार) बाट सुरु हुने ‘मुख्यमन्त्री कप पुरुष भलिबल’ प्रतियोगिताका लागि प्रदेश १ का खेलाडीहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रदेश १ सरकारले सुनसरीको इटहरीमा शनिबार कार्यक्रम गर्दै उनीहरूलाई बिदाइ गरेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बिदाइ गर्दै खेल जितेर आउन शुभकामना दिए । उनले उत्कृष्ट नतिजा ल्याएको खण्डमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्नेसमेत बताए ।

प्रतियोगिताका लागि प्रशिक्षक र व्यवस्थापकसहित १४ जना धनगढीतर्फ प्रस्थान गरेका छन् । टिम प्रशिक्षकमा दिनेश राई छन् भने व्यवस्थापकमा विनोद पाण्डे छन् ।

खेलाडीका रूपमा प्रकाश लावती लिम्बू (झापा), सन्देश विष्ट (भोजपुर), दिलिप राई (ओखलढुङ्गा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा ( उदयपुर), अनिल श्रेष्ठ (ओखलढुङ्गा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिशेक थापा (ओखलढुङ्गा), हिमाल प्रसाईं (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) रहेका छन् ।

खेलाडीलाई समाजिक विकास मन्त्रालय र प्रदेश १ भलिबल सङ्घको सहकार्यमा दमक र धरानमा पन्ध्र दिने बन्द प्रशिक्षण दिइएको थियो । प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टिमसहित १० टिमबीच भिडन्त हुँदै छ । प्रतियोगिताको फाइनल चैत १२ गते हुनेछ ।