विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता सुरु हुने भएको हो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढाएको छ । आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी अगाडि बढेको जानकारी गराएको हो । हप्तादिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।

गोधुली क्लब धरान, उर्लाबारी–११ मोरङ, गाईघाट–११ उदयपुर, साइनो स्पोटर््स क्लब विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एपीएफ पकली र गोलबजार प्रतिभा फुटबल क्लब सिरहाको सहभागिता रहने संयोजक किशोर सुब्बाले जानकारी दिए । पहिलो दिन उद्घाटन खेल चैत ११ गते गोधुली क्लब धरान सुनसरी र उर्लाबारी–११ मोरङ बीच प्रतिस्पर्धा हुने अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई यसपटक पुरस्कार राशि आयोजकले बढाएको छ । विजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछ । यसअघि प्रथम संस्करणमा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।  प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो ।

यस पटक प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार रूपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, उदयीमान एक जना खेलाडीलाई २० हजार नगद प्रदान गरिनेछ ।

प्रशिक्षक, गोलरक्षक, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिता सञ्चालन गर्न किशोर सुब्बाको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ । उक्त समितिको सह–संयोजक ट्रष्टका सदस्य राजु श्रेष्ठ रहेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ ।