युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ ।

मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ११ देखि १८ गतेसम्म रानीस्थित  जुटमिल खेलमैदानमा आयोजना गरिने  प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका गरी आठ टोलीको सहभागिता हुने जानकारी दिइयो ।

ट्रष्टका अध्यक्ष  किशोरबहादुर शाहीले प्रतियोगितामा सशस्त्र प्रहरी पूर्वाञ्चल, साइनो स्पोर्टस क्लब रानी मिल्स एरिया, गोधुली क्लब धरान सुनसरी, उर्लाबारी–११ मोरङ, गाईघाट–११ उदयपुर, एन्फा एकेडेमी धरान सुनसरी, दमक एकेडेमी झापा र गोलबजार प्रतिभा फुटबल क्लब सिरहाबीच प्रतिस्पर्धा हुने बताए । 

‘नकआउट’का आधारमा हुने प्रतियोगितामा  प्रथम हुने टोलीलाई रु दुई लाख एक हजार, उपविजेता टोलीलाई रु एक लाख एक हजारका साथै ट्रफी एवं प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किशोर सुब्बाले जानकारी दिए ।

यसैगरी ‘म्यान अफ दी म्याच’, प्रशिक्षक, गोलकिपर डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको  छ । मिल्स एरिया क्षेत्रका साथै विदेशमा बसेका नागरिकहरुबाट पनि रकम सङ्कलन गरिएको र प्रतियोगिताका लागि रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

आगामी वर्षदेखि नेपालका ‘ए’ श्रेणीको टोलीको प्रतियोगितामा सहभागिता गरिने प्रतिबद्धता ट्रष्टले गरेको छ । यस क्षेत्रमा खेलकुद प्रतियोगितामा गर्न रङ्गशालाको अभाव रहेकाले मिल्स एरियामा बन्द रहेको अशोक टेक्सटायल वा जुट मिलको जग्गा उपलब्ध भएमा खेलकुदको विकास गर्ने ट्रष्टका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङले बताए ।