हाङ्जाजित हंसपति बोलिन्द कुरूम्बाङ स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘याक्थुङ वंश एकः वंशावली अनेक’ जर्नल पुस्तकको प्रदेश १ का पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले चैत २ गते एक समारोहका बीच विमोचन गरिसकेका छन् । पुस्तकभित्रका पानाहरुमा  आँखा डुलाउँदा कुरूम्बाङ र पाङ्मा एकै वंशका हुन् कि होइनन् भन्ने बहस र विवादसँगै याक्थुङ लिम्बू जातिको इतिहास, अवस्थाबारे खोज अनुसन्धान गरेर लेखिएका आलेख सङ्ग्रहित छन् । 

याक्थुङ वंश एकः वंशावली अनेक पुस्तकले पछिल्लो समयमा याक्थुङ लिम्बू जातिभित्र भएका विभिन्न थर उपथरले माङ्गेन्ना यक र मिङ्स्राको आधारमा आफ्नो पुर्खाको पहिचान गर्दै ‘आफू को हो र कहाँबाट आएको’ भन्ने इतिहास तयार गर्ने लहर चलेकोबारे आलेखहरु लेखिएका छन् । सुरू मै मुन्धुमविद् तथा याक्थुङ इतिहासकारसमेत रहेका लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले पुस्तकको समग्र सार खिचेका छन् । याक्थुङ वंश एकः वंशावली अनेक शीर्षक लेखमार्फत् माबुहाङले भनेका छन्, ‘वंशावलीमा भैयाद बनाएर ल्याएका वंशजहरुको नाम छुटाउनु हुन्न ।......वंशावलीका कुरा गर्दा माङ्गेन्ना यकका सम्बन्धमा पनि केही मन्थन गर्नैपर्ने हुन्छ ।

माङ्गेन्ना यक भनेको लिम्बू जातिको थामालुङ उत्पत्ति स्थल नै हो । ढालफाँड गर्ने, बस्ती बसाउने, घर बनाउने, अन्नबाली उत्पादन गर्ने, परिवारदेखि समाज निर्माण गर्ने गरेको युगलाई नै माङ्गेन्ना यकले जनाउँछ । फेच्चुवा यक भनेको चाहिँ माङ्गेन्ना यकबाट फुटेर छुटेर आई नयाँ ठाउँमा बसोबास सुरू गरेको ठाउँलाई भन्नुपर्ने हुन्छ । नाहाङ्मा यक भनेको चाहिँ कुनै ठाउँ जुन कुनै पुर्खाको पराक्रम(सौर्यता) सँग सम्बन्धित छ, त्यस्तो ठाउँलाई मान्नुपर्ने हुन्छ । माङ्गेन्ना यक, नाहाङ्मा यक र फेच्चुवा यकले लिम्बू जातिको थातथलो स्पष्ट पार्छ ।’

वंशावलीबाट हुने मुख्य फाइदा वा लाभ भनेको ‘म को हुँ र मेरा पुर्खा को थिए’ भन्ने प्रश्नको जवाफ सरलरुपमा प्राप्त हुनु हो । अझै गहिरिएर खोज्दै गएमा आफ्नो पुर्खाको इतिहास, जीवनी, पारिवारिक, सांस्कृतिक, धार्मिक, सामाजिक, रहन–सहन, बसाइ सराइ, जीवनशैली, मूल्य र मान्यता आदिका बारेमा जानकारी प्राप्त हुन्छ वंशावलीबाटै । यतिधेरै जानकारी प्राप्त हुनु भनेको आफ्नो पहिचान स्थापित हुनु हो ।

वंश शब्दको समानार्थी शब्दहरु कुल, खलक, खानदान, सन्तान, परिवार हुन् । याक्थुङ लिम्बू समुदायमा कुनै पनि थरी वा पछिल्लो समयमा सन्तान फैलिएर अर्को थर बनेका समूहका माङ्गेन्ना यक र मिङ्स्रा एउटै छ भने उनीहरुका पुर्खा एउटै थिए भन्ने बुझ्नु पर्छ । यसमा भाषा, संस्कार संस्कृति, धर्म, परम्परा त मिल्ने भइहाले । यद्यपि बसाइ सराइ हुँदा एउटा गाउँबाट अर्काे गाउँतिर जाँदा सबै नगएर परिवारका केही सदस्यमात्र सरेर गए भने त्यो अर्को टाढाको गाउँको सामाजिक जीवनशैली, भाषा, धर्म, रक्तसम्बन्ध, संस्कृति रहनसनको प्रभावले नयाँ वंश तयार र विकास भएर केही तलमाथि हुनसक्छ ।

तर, अघि नै भनियो माङ्गेन्ना यक र मिङ्स्राले पहिचान दिलाउँछ । पछिल्लो समयमा करिब ५ दर्जन जति याक्थुङ लिम्बू कुलघरानाले आ–आफ्नो माङ्गेन्ना यक र मिङ्स्रामा आधारित वंशावलीहरु प्रकाशित गरिसकेको अवस्था छ । ती वंशावलीमा कतिपयको पुस्ता ५० कटेका देखाइएका छन् । कतिपयको १२ पुस्ता पनि नपुगेको अवस्था छ । ५० पुस्ताको क्रमबद्ध पुस्ता तयार गर्नु भनेको त्यो वंशावलीले आधुनिक जिनिओलोजीको मान्यताअनुसार करिब १३ सय ५० वर्षको इतिहासलाई लिपिबद्ध गर्नु हो र १२ पुस्ता पुग्नु भनेको आजभन्दा सवा ३ सय वर्षदेखिको पुर्खालाई समेटेर ल्याउनु हो ।

तर, साढे १३ सय वर्षदेखिको पुस्ता तयार भएको वंशावली याक्थुङ लिम्बू समुदायमा अलिक अस्वभाविक हुने देखिएको छ । याक्थुङ सभ्यताको पुराताŒिवक उत्खनन् भएको छैन । आधिकारिक रुपमा प्राचीन लिखित दस्तावेज पनि प्राप्त हुन नसकेको अवस्थामा ५० पुस्ताको वंशावली तयार गर्दा प्राचीन नेपाल अर्थात् किरातकाल अर्थात् छैठौं, सातांै शताब्दीतिर पुगिएला तर, वैज्ञानिक आधार भने दिन सकिने अवस्था छैन । किरातकाल नै थियो कि थिएन भन्ने बहस पनि छँदैछ । यी यावत् कारणले वंशावलीको वैधता, वैज्ञानिकता, प्रामाणिकता र विश्वसनीयता गुम्न पुग्छ । वंशावलीमा  कतिपयले आफ्ना पुर्खालाई अलौकिक शक्ति भएको पात्रको रुपमा पनि चित्रण गरेको पाइन्छ । मिथकको सहयोग लिन सकिन्छ तर, वंशावली भनेको जिउँदो अवस्थाको मानव सभ्यताभित्रको एउटा समूह वा जातिभित्रको पनि उपथरको इतिहास भएकाले वैज्ञानिक तथ्य र प्रमाणमा आधारित हुनुपर्छ ।

पुस्तकमा अर्जुन मावुहाङले पुस्तकको भूमिकाको रुपमा ‘याक्थुङ्बा वंश एकः वंशावली अनेकका सम्बन्धमा’ भनेर आफ्नो विचार राखेका छन् । त्यसपछि कमल तिगेला (विद्यावारिधि) को याक्थुङ वंश एकः वंशावली अनेक’, आइत खजुमको ‘कुरूम्बाङ वंश वंशावली सिंहावलोकन’, हर्क कुरूम्बाङको ‘कुरूम्बाङ वंशको चिनारी’, टीकाराम कुरूम्बाङको ताप्लेजुङ साँघुका कुरूम्बाङ वंशः यथार्थ र भ्रम’, उत्तमकुमार लिङ्थेपको ‘फागो, फागोदेन र मैवाखोलाको नालीबेली’, नरप्रसाद लुम्फुङ्वाको ‘वंशावली लेखनः एक बृहत् परियोजना’, हितराम तिल्लिङको ‘याक्थुङ वंशावली लेखन विधि’, सुवास तेयुङको ‘समाधीस्थलः गाडेर अन्त्येष्टी गरिने याक्थुङ पहिचान’, पूर्ण कुरूम्बाङ (पिकेश) को ‘विवादमा परेको मैवाखोले एक लिम्बूको थरः पाङ्मा’, दिलेन्द्र कुरूम्बाङको याक्थुङ भाषाको विकासको लागि आफैले गर्न सक्ने कुराहरु’, अनिता यक्युकको ‘याक्थुङ वंशावलीमा महिलाको उपेक्षा’, सन्तोष कुरूम्बाङको ‘ऐतिहासिक फेदाप राज्य र पोक्लावाङ यक’, देव सुब्बाको याक्थुङ लिम्बू समुदायको धर्म, संस्कार र संस्कृति’, र सुवास कुरूम्बाङ्को ‘कुरूम्बाङ (पाङ्मा) वंशको विवाद र समाधानको प्रयास’ लेखहरु समेटिएको छ ।

अधिकांश लेखकहरुले याक्थुङ समुदायको समग्र पहिचानलाई मुन्धुम, याक्थुङ सभ्यतासँग जोडेका छन् । यसैमा कुरूम्बाङ र पाङ्माको वंश केलाउने प्रयास गरेका छन् । डा. कमल तिगेलाको लेख भने समग्र पुस्तकको शीर्षकबाटै न्वारान भएको छ । उक्त शीर्षक राखिसकेपछि कम्तिमा १५–२० थरीको वंशावलीको सार खिच्नु पथ्र्यो तर, त्यसो भएको छैन । उनले आफ्नो आलेखमा भनेका छन्, ‘याक्थुङ मुन्धुमलाई आधार मान्ने हो भने (उहाँको मान्यतामा मान्ने हो भने मात्र, नमान्न पनि सकिन्छ भन्न चाहेको हो ?) आकास, पृथ्वी, र ब्रह्माण्डको सृष्टिदेखि मानव उत्पत्तिपछिसम्म चर्चा हुने गर्दछ । यसबाट याक्थुङ मुन्धुमले विश्व ब्रह्माण्डको सृष्टिको चर्चा गरेकाले पूरै विश्व नै याक्थुङहरुको हो भन्न सकिन्छ । यसर्थ समग्र विश्व र मानवको उत्पत्ति नै याक्थुङहरुको मान्नु पर्ने हुन्छ । यसले पछि किरात, राई, लिम्बू, चोङ, र सुब्बा भनिएका याक्थुङहरुलाई मात्र जनाउँदैन भन्ने बुझ्न आवश्यक छ ।’

अब अलिकति कुरो उठ्छ विश्व ब्रह्माण्डको सृष्टिको  र मानव सभ्यताको उत्पत्तिको कथा चर्चा त अन्य सभ्यतामा विकसित मानव समुदायको आफ्नो धर्म र दर्शनले पनि आफ्नै तरिकाले व्याख्या गरेका छन् । हिन्दु, इस्लाम, इसाईलगायत धर्म र दर्शनले विश्व ब्रह्माण्डको उत्पत्ति, मानव उत्पत्तिका विषयमा व्याख्या गरेका छन् । आफ्नो पहिचानको निर्माण गरेका छन् । त्यो अर्थमा फेरि कमल तिगेलाकै तर्कमा तर्क मिलाउने हो भने याक्थुङ पनि उनीहरुकै परिधिभित्र पर्न जान्छ ।

तर्क गरेर मुन्धुमी प्रमाण र इतिहासलाई कमजोर बनाउँदा आत्मरतिको आनन्द त आउँछ व्यक्तिगत रुपमा तर निष्कर्ष निस्कँदैन । इतिहासकारहरुले वकिल जस्तो तर्क गर्नु हुँदैन भनिन्छ । मुद्दामा पराजित हुनसक्ने कुनै पनि दोषी वादी वा प्रतिवादीलाई पनि तर्कले जिताउने काम वकिलको मात्र हो । यहाँ मुन्धुमी मान्यता कमजोर हुनु भनेको कमल तिगेलाजी उभिएको वास्तविक धरातल र मौलिक पहिचान रसातलमा पुग्नु हो । मुन्धुमी मान्यता नै रसातलमा पु¥याएपछि अरु याक्थुङको पराजय हुनु हो । यसर्थ इतिहास लेख्नेहरु एउटा शल्य चिकित्सकजस्तो हुनुपर्छ न कि वकिल ।

अर्को कुरा, उक्त आलेखमा याक्थुङहरुले ‘मौखिक रुपमा प्रस्तुत गर्दै ल्याएको मुन्धुममा जीवन र जगत्को वर्णन पाएको’ भन्ने उल्लेख गरेका छन् । यो तर्कमा सहमत राख्न सकिन्न । मुन्धुमलाई अरुले थुतुरी वेद, श्रुति परम्परा, छालामा लेखेको वेद भनेको र भन्दै आएकाले याक्थुङ इतिहासकारहरुले पनि त्यसै भन्न थालेका हुन् र छन् । जब अक्षर, लिपि, वर्ण, कागज, कलम र मसीको आविष्कार भयो, तब लेख्य रुपमा आउन थालेका हुन् भन्ने वैज्ञानिक मान्यतालाई बिर्सनु हुन्न । उनको आलेखले अरुको दर्शन चाहिँ सुरूमै लेख्यरुपमा आएको र मुन्धुम चाहिँ मौखिकमात्र हो भन्ने बुझाउँछ । हिन्दुका चार वेद, १८ पुराण र उपनिषद् पनि पहिले मौखिक नै थिए । सबैको प्राचीन पहिचान मौखिक रुपमा नै पुस्तान्तरण हुँदै आएको हो । उनले भनेजस्तो मुन्धुममात्र मौखिक थिएन । मुन्धुम कस्तो अवस्थामा थियो भन्ने विषयमा कमलजी जस्ता विद्वानले नै थप खोजअनुसन्धान गर्नु जरुरी छ ।

एक अर्को प्रसङ्गमा भनिएको छ, ‘पहिलो समूह तलबाट तम्बर पछ्याउँदै उकालो लागेको हो । उक्त समूहमा सिमाङढबाट सिधै जाने समूह, उपत्यकामा राज्य विप्लवमा परेपछि पूर्व लाग्ने समूह र बर्मा, आसाम कामरुप हुँदै आउने समूह पर्दछन् । यो ‘पहिलो समूह तलबाट तम्बर पछ्याउँदै उकालो लागेको’ भन्ने मिथक पछिल्लो समयमा वराहक्षेत्रस्थित चतराको सप्तकोसीको खुवालुङ (पानीमा देखिएको ढुङ्गा राई किराती भाषा) काण्डपछि किरात राई समुदायका इतिहासकार बुद्धिजीवीहरुले चर्चामा ल्याएपछि थाहा भएको हो । किरात राई मुद्धुमविद् इन्द्रहाङ खम्बुका अनुसार किरात राईका आदिम पुर्खाहरु मुकुबुङ (भोटे) जेठा, हर्कबुङ किरात (माइला) र रिब्लबुङ (थारु) कान्छा तीन भाइ दक्षिणको समथर भूमिबाट उकालो चढी सप्तकोसीको त्रिवेणी नजिकैको खुवालुङ पुगे । त्यहाँ ढोका बन्द थियो । जेठा र माइलाले ढोका खोलेर उत्तरतिर लागे । कान्छाले ढोका खोल्न नसक्दा तराईतिरै फर्केर बसे । कमल तिगेलाजीको आलेखले भनेको दक्षिणबाट उत्तरतिर आउनेको कथा उल्लेखित किरात राईको मिथकसँग हु–बहु मेल खाएको छ ।

उनले ताप्लेजुङको तमोरखोला आसपास याक्थुङ सभ्यताको उत्पत्तिस्थल हुन सक्दैन भन्ने तर्क पनि सोही आलेखमा गरेका छन् । उनले मुन्धुमी आधार र उत्पत्तिस्थललाई स्वीकार्न सकेका छैनन् । उनले अङ्ग्रेजी अक्षर ‘एलआइएमबीओ’ जोडेर बनेको ‘लिम्बो’ शब्दको आधारमा लिम्बू भएको तर्कलाई विश्वास गरेका छन् । वास्तवमा ‘लिम्बो’ शब्द क्याथोलिक समुदायसँग सम्बन्धित शब्द हो । कताबाट क्याथोलिक जोडियो याक्थुङ लिम्बू वंशमा ?

पुस्तकमा नेपालमा पहिलो पटक च्याब्रुङ सम्बन्धी पुस्तकै निकालेर चर्चामा आएका आइत खजुमले ‘कुरूम्बाङ र पाङ्मा वंश वंशावली सिंहावलोकन’ शीर्षकमा आफ्नो धारणा राखेका छन् । आलेखमा लेखक खजुमले कुरूम्बाङ र पाङ्मा वंशबीचको सम्बन्ध, मिङ्स्रा, थरको उत्पत्ति र माङ्गेन्ना यक बारे चर्चा गरेका छन् । उनले भनेका छन्, ‘कुरूम्बाङ वंशावली र इतिहास पुस्तकमा उल्लेख भएको वंश तालिका अनुसार सेनसेनगुम फेदापहाङका पनाति सिदिइङपट्टिका २७ पुस्तामा हाङ्नरु पुर्खा भेटिन्छ । हाङ्नरु पुर्खाको वैगुम र हाङ्जाजित छोराहरु छन् । तिनै वैगुमपट्टिका  हालका कुरूम्बाङ थर र हाङ्जाजितपट्टिका पाङ्मा भए भन्ने देखिन्छ ।’ कुरूम्बाङ र पाङ्माबीचको वंश विवादजस्तै अरु याक्थुङ समुदायमा पनि देखिएका छन् । यस्ता विवादलाई इतिहास र तथ्यको आधारमा समाधान गर्नुपर्छ भन्ने तर्क खजुमले राखेका छन् ।

वंशावलीको सोझो अर्थ पारिवारिक वृक्ष अर्थात् जरा अर्थात् आदि पुर्खादेखि पलाएको रूखका मूल हाँगा, शाखा हाँगा हुँदै पात–पातसम्मको क्रमबद्ध इतिहास हो । एक हिसाबले वंशावलीलाई पारिवारिक इतिहासको अध्ययन, अभिलेखीकरण गरिएको दस्तावेजको रुपमा पनि लिन सकिन्छ । वंशावलीका विज्ञानीहरुका अनुसार मौखिक साक्षात्कार, अनुवांशिक विश्लेषण, ऐतिहासिक तथ्य र अभिलेख उपयोग गरेर कुनै पनि परिवारको विस्तारित वंशावली तयार गर्न सक्छन् । पारिवारिक इतिहास र उत्पत्तिको खोजको विकास विभिन्न उद्देश्यले भएका छन् ।

जसमा पारिवारिक वंश वृक्षको ऐतिहासिक स्थानमा आफ्नो परिवारको स्थान सुरक्षित गर्ने, पहिचान दिलाउने, भावी पुस्ताका लागि अतितको इतिहासलाई सुरक्षित गर्ने जिम्मेवारीको भावनाले पनि वंशावली लेख्ने गरिन्छ । वंशावलीलाई सम्बन्धित वंशका कुनै जानकारले आफै पनि खोज अनुसन्धान गरेर तयार गर्न सक्छ भने व्यावसायिकरुपमा वंशावलीसम्बन्धी अनुसन्धान गर्नेहरुले अर्काको वंशावली पनि तयार गर्न सक्छन् । हर्कजङ कुरूम्बाङज्यूले कुरूम्बाङ वंशको चिनारी शीर्षक लेखमार्फत् सातरेनुहाङ याक्थुङ थरलाई केलाउने प्रयास गरेका छन् । उनका अनुसार सेनसेनगुम फेदापका सात रानीबाट २१ सन्तान भएपछि तिनैका २५ बढी थर, उपथर फैलिएको हो । सातरेनुमासँग जोडिएको थरहरु तुम्बाहाङ्फे, खापुङ, पयाङ्गु, निङ्लेकु, कुरूम्बाङ, सिङ्गक, हुक्पाचोङ्बाङ, मादेम्बा, लुङ्फुङ्वा र सम्बाहाङ्फे हुन् । उनीहरुको माङ्गेन्ना यक पोक्लाबाङ हो ।

टीकाराम कुरूम्बाङको ‘ताप्लेजुङ साँघुका कुरूम्बाङ वंशः यथार्थ र भ्रम’ लेखमा व्यापक रुपमा इतिहासलाई खोतल्ने प्रयास गरेर वास्तविकता केलाउने प्रयास गरिएको छ । उनले लेखेका छन्, ‘हाम्रो माङ्गेन्ना यक तेह्रथुम फेदाप सिम्लेको पोक्लाबाङ हो । मूल पुर्खा कुरूम्बाङ हुन् । पुर्खा बलिन्द सङ्खुवासभाको पाङ्मा गाउँमा हुर्केकाले हामीलाई पाङ्माली भन्दै पाङ्मा भन्न थाले । हामी पनि पाङ्माली हुँदै पाङ्माका रुपमा परिचित भयौं । हामीले पनि पाङ्मा बोलेको लेखेको सत्य हो ।

इतिहासको खोजी र वंशावली निर्माणका क्रममा हाम्रो मूल वंश कुरूम्बाङ वंशमा समावेश भएर जाने भन्ने विषयमा धेरै बैठक र छलफल भए । छलफलपछिको निष्कर्षमा राजीखुसीले कुरूम्बाङ लेख्न मञ्जुर भयौं । पछिल्लो समयमा व्यक्तिगत रिसइबीका कारण कुरूम्बाङ र पाङ्माबीच विवाद भयो । हचुवाका भरमा फागो पाङ्मा वंशावली प्रकाशन गरी माङ्गेन्ना यक र पुर्खा फागो वनेम वंशावलीमा जोडाइएको पाइयो ।’ माङ्गेन्ना यक र मिङ्स्रा नमिलेका कारण फागो वनेम वंशले भने पाङ्मालाई स्वीकारेका छैनन् ।

लेखक हितराम तिल्लिङले याक्थुङ वंशावली लेखन विधिबारे चर्चा गरेका छन् । वंशावली इतिहास लेख्ने तयारी गरिरहेका याक्थुङ समुदायका लागि उक्त लेख निकै पठनीयमात्र छैन, कसरी वंशावली तयार गर्ने भन्ने तरिका पनि सिकाइएको छ । लेखमा वंशावलीको परिभाषा र अर्थ, वंशावली लेखनको इतिहास, वंशावली लेखन पद्दतिको किसिम, परम्परागत वंशावली लेखन पद्दति, प्राज्ञिक वंशावली लेखन पद्दति, पूर्व साहित्यको समीक्षा, वंशावलीको महŒवलाई विस्तारपूर्वक सरल भाषामा बुझाउने प्रयास गरिएको छ । तिल्लिङको लेखले राम्रो वंशावली कसरी तयार गर्ने भनेर सिकाउँछ । वंशावलीमा पुस्तापुस्ताबीचको पुलको काम गर्ने आधार भनेको माङ्गेन्ना यक र मिङ्स्रा नै हो भन्नेमा जोड दिइएको छ ।

सुवास तेयुङले समाधिस्थलः गाडेर अन्त्येष्टि गरिने याक्थुङ पहिचानबारे मुन्धुमलाई आधार बनाएर खोजमूलक लेख तयार गरेका छन् । अहिले आफ्नै वंशको वंशावली इतिहासको खोज अनुसन्धानगर्दै आएकी अनिता याक्युकले याक्थुङ वंशावलीमा महिलाको उपेक्षा शीर्षकमार्फत् धेरैको आँखा खोल्ने प्रयास गरेकी छन् । याक्थुङ समुदायले प्रकाशन गरेका प्रायः वंशावलीमा महिला (छोरी, बुहारी वा चेली) को नाम लेख्ने चलन त्यति देखिएको छैन । जब कि मुन्धुममा युमाको वर्णन जताततै पाइन्छ । पहिलो मानवको रुपमा आदिम स्त्री मुजिङ्ना खेयोङ्नालाई लिइन्छ र समाजशास्त्री, मानवशास्त्री इतिहासकारहरुले पनि याक्थुङ समाज मातृसत्तात्मक थियो भनेर चर्चा गर्दै आएका छन् ।

तर, पुरूषलाई जन्म दिने तिनै स्त्रीहरुको नाम भने वंशावलीमा नलेखेर पुरूषको मात्र लेख्ने चलनलाई सच्याउन आग्रह गरेकी छन् । हो पनि, जन्माउने एउटी स्त्री अनि नाम चाहिँ पुरूषको मात्र ? यो सायद अन्य सभ्यता वा पितृसत्तात्मक समाजबाट प्रभावित भएर याक्थुङ समुदायले आफ्नो वंशावली तयार गर्दा महिलाको नाम लेख्न हिच्किचाएको हुनसक्छ । तर, पछिल्लो समयमा केही वंशावलीमा महिलाको नाम पनि लेखिन थालिएको छ । यो राम्रो सुरूवात हो ।

पुस्तकका सम्पादकसमेत रहेका सन्तोष कुरूम्बाङले ऐतिहासिक फेदाप राज्य र पोक्लाबाङ यकबारे चर्चा गरेका छन् । लेखमा फेदापको नामाङ्कन, ऐतिहासिकता, छथर थुमको उदय, आठराई थुमको उदय, पोक्लाबाङ माङ्गेन्ना यक आदिबारे चर्चा गरेका छन् । पोक्लाबाङ यक १८ थरी लिम्बूको माङ्गेन्ना यक भएको पनि चर्चा गरेका छन् । तर, त्यहाँ कसरी भगवती मन्दिर स्थापना भयो ? १८ थरी लिम्बूको पवित्रस्थल यकमा हिन्दु समुदायले मान्ने भगवतीको मन्दिरको इतिहास पक्कै पनि लामो छैन भन्ने यो लेखबाट थाहा हुन्छ । सुवास कुरूम्बाङले कुरूम्बाङ (पाङ्मा) वंशको विवाद र समाधानको प्रयास लेखमार्फत् एउटै कुलका कुरूम्बाङ र पाङ्माबीचको विवाद समाधान गर्न पटक–पटक गरेको छलफलको दस्तावेज प्रस्तुत गरेका छन् ।

वंशावलीका बारेमा भन्नै पर्दा विश्वमा सबैभन्दा धेरै पुस्तालाई दस्तावेजीकरण गरिएको वंश भनेको चीनका दार्शनिक कन्फुसियसको वंशावली हो । उक्त वंशावलीमा २५ सय वर्षदेखि पुस्ता थपिँदै आएको छ । ६ लाखभन्दा बढी जनसङ्ख्या नाघेको कन्फुसियसको पिँढी अहिले ८१ औं पिँढीमा चलिरहेको छ । यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत सामेल गरिएको छ । यो पिँढी रजनसङ्ख्याको हिसाबले याक्थुङ समुदायको कुनै पनि थरी वा उपथरीको २० पिँढीमात्र पुग्दा करिब डेढलाख जनसङ्ख्या फैलिनु पर्ने हो तर, अधिकांश याक्थुङ समुदायका थरको वंशावली हेर्दा त्यस्तो अवस्था नदेखिएकाले वंशावलीको खोज अनुसन्धान गर्दा केही कमी कमजोरी पत्ता लगाउनु जरूरी छ । वंशावली लेख्ने चलनले विशेषगरी याक्थुङ समुदायले ‘म’ को हुँ र मेरो पुर्खा को थिए’ भन्ने प्रश्नको जवाफ आफैसँग खोजिरहेको छ ।