पथरी / मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को फाइनलमा खेलमा द रियल ब्रदर्श र न्यू स्टार एफसी फाइनलमा भिड्ने भएको छ ।

लिगको विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा द रियल ब्रदर्शले शिखर एफसीलाई शुन्यको विरुद्ध १ गोल गर्दै विजयी भएपछि द रियल ब्रदर्शले न्यू स्टार एफसीसँगको फाइनल खेलमा भिड्ने भएको हो । बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा टेन नवोदयलाई २–१ गोलको अन्तरले हराउँदै न्यू स्टार फाइनलको यात्रा तय गरेको थियो ।

यस अघि फागुन २२ गते द रियल ब्रदर्श र न्यू स्टार एफसी विच आमने सामने भइसकेका छन् । सो खेलमा द रियल ब्रदर्शले शुन्यको विरुद्ध ३ गोल गर्दै न्यू स्टारमाथि सानदार जित दर्ता गराएको थियो ।

विहिबारको खेलमा जितका लागि द रियल ब्रदर्शका तिर्थराज बस्नेतले ३६ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । शिखरको डिफेन्सहरु बिच एकआपसमा तालमेल नमिल्दा बस्नेतले गोल गर्न सफल भए । खेलको सुरुवातदेखि नै शिखरएफसी माथि द रियलले दबाबमा राखेको थियो ।

द रियल ब्रदर्शका दुई सशक्त खेलाडीहरू सेनेहाङ लिम्बु र समिर याक्खा घाइते हुँदै खेल मैदान छाड्न बाध्य भएका थिए ।  त्यसैगरी दोस्रो हाफको अन्त्यतिर शिखर एफसीले दुई वटा निक्कै राम्रो अवसरहरु गुमाउन पुग्दा हार बेहोर्नुपर्यो । खेलको म्यान अफ द म्याच द रियल ब्रदर्शका तिर्थराज बस्नेत घोषित भए । 

लिगको प्रतियोगितामा विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै विद्यागत तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्ने आयोजक समितिका संयोजक संजिव गिरीले बताए ।