बिर्तामोड । सिक्किमको रेडपाण्डा फुटबल क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा–११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोलअन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई (बी) र विश्वास श्रेष्ठले गोल गरे ।

रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दियो । खेल अवधिमा रेडपान्डाले पेनाल्टीमार्फत् एक गोल फर्कायो । सिक्किमका लागि ६६ औँ मिनेटमा योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डी–एरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत् गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रूपेश बर्तौलालाई डी–एरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे । ५५ औँ मिनेटमा पिन्सो भुटियाले अन गोल गरेपछि झापासामु सिक्किम निरिह बन्यो । झापाका फकुन्ले अबयोमीसँग डी–एरियामा जुधेका उनले गोलरक्षकलाई दिएको पास गोल भएको थियो । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई (बी)ले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिबाउन्स भएको बललाई पोष्टको दिशा दिए ।

७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत् टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । तर, ६० औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक निन्डुप लेप्चाले पञ्च गर्दै बचाए ।

खेलको ८९ औँ मिनेटमा मिडफिल्डर विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को फराकिलो अन्तरमा पु¥याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो ।

बिहीबारको खेलको प्लेयर अफ दी म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए । एकपक्षीय जस्तो खेलमा झापाका खेलाडीले दर्जनबढी मुभ बनाए पनि अग्रताका लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । खेल अवधिमा झापाले ३ तथा सिक्किमले एक पेनाल्टी पाएका थिए । झापाको विशाल राईले ४३ औं मिनेटमा गरेको प्रहार आकाशिएको थियो ।

झापाका लागि विदेशी खेलाडी फाकुन्ले अबयोमीले ४४ र ४५ औं मिनेटमा गरेको सशक्त प्रहार सिक्किमका गोलरक्षक लेप्चाले बचाए । पहिलो हाफको इन्जुरी समयमा विमल घर्तीमगर र विशाल राईको प्रहार खेर गयो । ८७ औँ मिनेटमा विमलले वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । खेलको अन्तिम समयमा एन्ड्रेस नियाको प्रहार बारमा लागेर फर्कियो ।

झापा गोल्डकपको यसअघि भएका चारवटा संस्करणमा झापा फाइनलमा पुगेको थियो । फाइनलमा एक पटक मनाङ मस्र्याङ्दी क्लब र पछिल्ला तीन संस्करणमा त्रिभुवन आर्मी फुटबल क्लबसँग झापा पराजित भएको थियो । यो पटक हुन लागेको सेमिफाइनलमा सङ्कटा क्लबको बलियो डिफेन्स लाइन झापाका लागि चुनौती बन्ने देखिएको छ ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा सिक्किमका प्रशिक्षक निकोलस राईले आफ्ना केही स्टार खेलाडी घाइते भएकाले हार भएको बताए । उनले पहिलो हाफमा पेनाल्टी पाउनु र अन गोल हुनुले टिमको मनोबल कमजोर भएको बताए । झापाका प्रशिक्षक सन्तोष गुरुङले भर्खरै खप्तड गोल्डकप खेलेर आएका खेलाडी समावेश भएको प्रतियोगिता भएका कारण टिम सेट गर्न समय नपुगेको बताए ।

भर्खरैमात्र टिम तयार भएका कारण अपेक्षित प्रदर्शन गर्न नसकिएको उनको भनाइ थियो । बल पाएपछि फिनिसिङको तालमेल नमिल्दा सोचेजति चाँडो स्कोर निस्कन नसकेको उनले बताए । आगामी खेलमा सुधार गरेर जाने उनको भनाइ थियो ।

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनल समीकरणका खेल पूरा भएका छन् । जितसँगै झापाले भोलि (शनिबार) सङ्कटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । आज (शुक्रबार) को पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।