धरान/ कोरोनाको भेरियन्ट ओमिक्रोन फैलिएसँगै धरानमा पनि एकसातामै सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

सङ्क्रामक रोग विशेषज्ञहरूले कोरोनाको तेस्रो लहर समुदायस्तरमा पुगिसकेको बताइरहेको बेला धरान उपमहानगरपालिकाले सावधानी नअपनाउँदा केही वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित भएका छन् ।

वडानम्बर १३, १४, १९, ७, ११ र २० का वडासचिव र अन्य कर्मचारीहरू सङ्क्रमित भएपछि एक साताका लागि ती वडा कार्यालयको सेवा बन्द गर्ने समन्वय भइरहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताए । उनका अनुसार कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि वडा १४ र २० बाट बुधबारदेखि एक सातालाई सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको बेलादेखि नै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिए पनि उपमहानगरपालिका र जनप्रतिनिधिहरूले भने खासै चासो दिएका थिएनन् ।

धरानमा एक महिनायता विभिन्न ठाउँमा कन्सर्ट, सांस्कृतिक कार्यक्रम, पछिल्लो समयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर पब्लिक हाईस्कुलको खेलमैदानमा तीनदिने धरान दिवस (मेला) लगाइएको थियो । उक्त कार्यक्रमको उद्घाटनमा उपमहानगरका सबै कर्मचारी, विद्यार्थी र सङ्घ–संस्था, जातीय संस्थाका प्रतिनिधिहरूले झाँकी प्रदर्शन गर्दै नगर परिक्रमासमेत गरेका थिए ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले कर्मचारीहरूमा कोरोनाको लक्षणहरू देखिएपछि मङ्गलबार १८ जनाको परीक्षण गरिएकोमध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । उनले भने, ‘सङ्क्रमित भएकामध्ये ८ जनालाई धरान–१९ स्थित हरियाली सामुदायिक वनमा रहेको आइसोलेसन सेन्टरमा राखिएको छ भने अरूलाई होम आइसोलेसनमा राखिएको छ ।’

यसैबीच कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यानमा राख्दै सुनसरी जिल्ला प्रशासनले बुधबारदेखि लागू हुने गरी जिल्लाभरि कुनै पनि किसिमको कार्यक्रम, खेलकुद, बैठक, गोष्ठी नगर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ओमिक्रोनको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन मास्क, सेनिटाइजर प्रयोग र भौतिक दूरी अनिवार्य कायम गर्न तथा माघ १ गतेदेखि सार्वजनिक सेवाका कार्यालय, होटल, रेष्टुराँ, सिनेमा हल, रङ्गशालामा प्रवेश गर्न कोभिड खोपको कार्ड अनिवार्य देखाउनु पर्ने निर्देशन दिइएको छ ।

पछिल्लो एक सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्न आएकाहरूमा पनि पोजेटिभ रिपोर्ट देखिनेको सङ्ख्या बढेको छ । प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस २७ गते ८२ जनाको टेष्ट गर्दा १९ जनामा पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार पोजेटिभ देखिनेहरूको सङ्ख्या एक्कासि बढे पाइएको छ । पुस २५ गते ९४ जनाको टेष्ट गर्दा शून्य रिपोर्ट आएकोमा २६ गते ७० जनाको परीक्षणमा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

उनका अनुसार कोरोना पोजेटिभ देखिनेको सङ्ख्या बढे पनि प्रतिष्ठानको कोभिड अस्पतालका आइसियु र भेन्टिलेटरमा २ जनामात्र उपचाररत छन् । कोभिड अस्पताल खाली नै रहे पनि सबै तयारी अवस्थामा रहेको सह–प्रवक्ता डा. पोखरेलले बताए ।