धरान/प्रदेश १ स्तरीय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता माघ १३ गते गरिने भएको छ । 

झापा, मोरङ र सुनसरीका करिब २० विद्यालयबीच विभिन्न भाषाका लोक नृत्यमा प्रतिस्पर्धा हुन लागेको आयोजक युनाइटेड डान्स एकेडेमी धरानले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एकेडेमीका प्रबन्ध निर्देशक सन्तोष तामाङले चुट्का, कौडा, सेलो, झ्याउेर, झाँक्री, धिमे, सङ्गिनी, बालनलगायत नृत्यमा प्रतिस्पर्धा हुने बताए ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक भएको देशमा त्यसअनुसार नै हरेक जातिको फरक फरक नृत्य हुने भएकाले पनि प्रतियोगिता गराउन लागिएको उनले बताए । ‘एक जातिको नाच अर्को जातिले पनि थाहा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने । 

मौलिक कला र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले गरिन लागिएको कार्यक्रममा यसपटक मुसहर जाति, सन्थाल जाति र सुनुवार जातिको सांस्कृतिक नृत्य पनि प्रतिस्पर्धामा आएको बताए । प्रतियोगिता विजेताले नगद ४० हजार रुपैयाँ, दोस्रोले २० हजार, तेस्रोले १० हजार र सान्तवना ५ हजार रुपैयाँसहित ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै उत्कृष्ट प्रशिक्षकलाई २५ सय रुपैयाँ प्रदान गरिने भएको छ । धरान–८ सभागृहमा गरिन लागिएको प्रतियोगितामा एकजना नृत्य प्रशिक्षक र एक जना पत्रकारलाई नगदसहितले सम्मानित गरिने कार्यक्रम पनि रहेको प्रबन्ध निर्देशक तामाङले बताए ।