धरान / बराहक्षेत्र नगरपालिका–१ बस्ने असक्त तथा असहाय कृष्णकुमार माङ्पाङ राई (झ्याल बुट्टे) को निधन भएपछि समस्यामा परेको उनको परिवारलाई सहयोग जुट्न थालेको छ ।
प्यारालाईसिसबाट पीडित राईको पुस १ गते निधन भएपछि उनकी श्रीमति र दुई छोरा समस्यामा परेको थाहा पाएपछि वराहक्षेत्र–१ घरभई हाल युएईको अबुधावी बस्दै आएका दिलिपकुमार रायले ८ हजार रुपैयाँ सहयोग गरेका छन् । स्थानीय सञ्चारकर्मी हिमाल राईले सामाजिक सञ्जाल मार्फत राई परिवारलाई सहयोगको आग्रह गरेका थिए । रायले सञ्चारकर्मी राई मार्फत आर्थिक सहयोग पठाएका हुन् ।
श्रीमानको निधनपछि आर्थिक समस्या परेका बेला यसरी सहयोग पाउँदा केही राहत महशुस गरेको मृतक राईकी श्रीमति कृष्णमाया राईले बताईन् । उनका दुई छोरा औलिया मावि चतरामा कक्षा ६ मा अध्ययरत छन् ।
राई परिवारलाई औलिया सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष रन्जित लोहनीले सामुदायिक वन समुहको तर्फबाट नगद रु ५ हजार रुपैयाँ सहयोग गरेका थिए भने वेलका नगरपालिका–८ कोशीपुल छेउमा रहेको चुला रेस्टुरेन्टका सञ्चालक नदिम राईले एक बोरा चामल सहयोग गरेका छन् ।
त्यस्तै राई परिवारलाई स्वर्गीय वीरमाया फाउन्डेसन, किरात राई यायोक्खा वडा नं १ र २ तथा लायन्स क्लब लगायत विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगत रुपमा आर्थिक तथा खाध्यान्न लगायत सामग्रीहरु उपलब्ध गराएका थिए ।
मृतक राईकी श्रीमती ६५ वर्षीया कृष्णमायाको हालसम्म नागरिकता समेत छैन भने उनीहरुको विवाहदर्ता पनि नभएको स्थानीय राज बान्तवा राईले बताए । नागरिकता नहुँदा उनले विभिन्न समस्या भोग्दै आएकी छन् । वराहक्षेत्र १ का वडाअध्यक्ष सुरेश श्रेष्ठले उनको नागरिक वनाउन तथा आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।