पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा नेकपा एमालेको टोल कमिटी गठन तथा पुनर्गठन कार्य अघि बढेको छ ।

 सबैभन्दा पहिले वडा नम्बर ८ ले टोल टोलमा भेला बोलाएर १० वटा टोल कमिटी गठन गरेको थियो । वडा कमिटी अध्यक्ष नवीनजंग कार्कीको सक्रियतामा टोल कमिटी गठन कार्य अघि बढेपछि अन्य वडामा पनि गठन र पुनर्गठन कार्य अघि बढेको छ ।

१० वटा वडा रहेको नगरमा वडा नम्बर १, ३, १० सहितका वडाहरुमा पनि यो क्रम अघि बढेको छ । वडा नम्बर १० मा टोल कमिटी गठनसँगै वडाका ७० वर्ष कटेका ४६ जना पार्टीका सदस्य एवम् शुभचिन्तकहरुलाई सम्मानपत्र र ब्लाङकेट प्रदान गरी सम्मानित गरेको अध्यक्ष पर्वत थापाले जनाए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य युवराज वास्कोटा, प्रदेश सदस्य एवम् पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई,  जिल्ला कमिटी सदस्यहरु भगतचन्द्र थपलिया, जीवन खतिवडा, नगर अध्यक्ष रमेश दाहाल, नगर सचिव भीम कुमार राई, वडा जनप्रतिनिधिहरु मैना आचार्य, अनोज घिमिरे, मन कुमारी विक लगायतको आतिथ्यता रहेको थियो ।

१० नम्बर वडा कमिटिले वडालाई ५ वटा टोलमा विभाजन गरी टोल कमिटि गठनको कामलाई पनि पूर्णता दिएको छ । जस अन्तर्गत टोल कमिटी संयोजकहरुमा क्रमश धनबहादुर श्रेष्ठ, मीना तामाङ, यूवराज तामाङ, नायक बहादुर श्रेष्ठ र योगेश विष्ट चयन भएको वडा सचिव सञ्जय राईले जनाए ।

 वडा नम्बर १ मा पार्टीका वडाध्यक्ष प्रदीपकुमार राईंको अध्यक्षता सम्पन्न बैठकले ४ जनाको रिक्तस्थान पूर्ति गर्दै कमिटीलाई पूर्णता दिएको छ भने पूर्णता पाएको कमिटी प्रणालीअन्तर्गत युवा, महिला, आर्थिक, प्रचारप्रसार गरेर ४ वटा विभाग निर्माण गरेको छ ।