मेचीनगर नगरपालिका–१० मा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्यले कृषिमण्डी निर्माण हुने भएको छ । करिब सात बिघा जमिनमा बन्ने कृषिमण्डी आयोजनाका लागि मङ्गलबार सम्झौता गरिएको हो । 

नगरपालिकका र नगर विकास कोष काठमाडौँबीच  नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगर प्रमुख विमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । मेचीनगर कृषिमण्डी आयोजना निर्माणको कूल अनुमानित लागत रकम  १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषका तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख गरिएको छ ।

सो सम्झौता नगरप्रमुख आचार्यले बृहत् नमूना कृषि पूर्वाधार आयोजनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय र सयममा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

उनले नगर विकास कोषको उद्देश्य नै व्यवस्थित सहरीकरणमा नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने रहेकाले आगामी दिनमा नगरपालिकासँग सहरी पूर्वाधारका अन्य आयोजनामा समेत सहकार्य हुने विश्वास व्यक्त गरे ।