विराटनगर । ग्रुप फोर सेक्युरिटी सर्भिसेज (जि.फोर.एस.) प्रालिले सुरक्षा गार्डलाई दिँदै आएको सेवा सुविधा कटौती गरेपछि श्रमिकहरू आन्दोलित भएका छन् ।

कम्पनीले दिँदै आएको ग्रेड, बढुवालगायतका सेवा सुविधाहरू कोभिड–१९ को बहाना बनाउँदै रोक्का गरिएपछि जि.फोर.एस.मा आबद्ध सुरक्षा गार्डहरू आन्दोलित भएका हुन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घको नेतृत्वमा सुरक्षा गार्डहरूले कम्पनीले दिँदै आएको सेवा सुविधा निरन्तर रूपमा पाउनुपर्ने भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेका छन् । उनीहरूले सुरक्षा गार्डहरूले राखेका माग सम्बोधन गर्नको लागि यसअघि कम्पनीलाई दुई साताको समय दिएका थिए ।

कम्पनीले श्रमिकको माग सुनुवाइ नगरेपछि बाध्य भएर चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घ मोरङका अध्यक्ष श्यामकुमार गौतमले जानकारी दिए ।

‘कम्पनीले यसअघि ग्रेड बढुवा, बिदा, बिरामी बिदालगायतको सम्पूर्ण सेवा सुविधा दिने गरेको थियो । कोभिड–१९ पछि अहिले विगतमा दिँदै आएको सेवा सुविधाहरू रोक्का गरेको छ’ अध्यक्ष गौतमले भने, ‘यसरी श्रमिकहरूलाई दिँदै आएको सेवा सुविधा कम्पनीले कटौती गरेपछि बाध्य भएर आन्दोलनमा होमिनु परेको हो ।’

उनीहरूले न्यूनतम् वेतन वृद्धि, वार्षिक ग्रेड बढुवा, वार्षिक बिदा, उपदान, सञ्चयकोषलगायतका ३१ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।