यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले सीमान्तकृत अल्पसङ्ख्यक समुदायका प्रति चासो दिएको छ । आर्थिक रूपमा विपन्न र अल्पसङ्ख्यक समुदायका सुकुम्बासीलाई निःशुल्क जगा धन पुर्जा र सोही समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
गाउँपालिकाको ५ नं. वडामा माझी २० घरधुरी छन् । भने भुजेल ६ घरधुरी छन् । त्यस्तै कुम्मायक ३ मा २० माझी घरधुरी गरी ४६ सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको बसोबास छ । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को १ लाख ५० हजार रकमबाट ४६ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पालिकाको वडा न. ३, ४ र ५ नम्बर वडाको विभिन्न विद्यालयमा अध्ययनरत ४६ सीमान्तकृत तथा अल्पसङ्ख्यक माझी समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा ब्याग झोला वितरण गरेको छ । 

कुम्मायक ५ को नागेश्वरी आधारभूत विद्यालय र महेन्द्रदोय मा.बिका २३ र ३ नं. वडाको  सिद्ध मा.बि. तिङदेन, महादेव आ.वि. र त्रिभुवन आ.वि.मा अध्ययनरत २३ जना सीमान्तकृत माझी समुदायका बिधार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्रीहरू वितरण गरिएको पालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए । विद्यार्थीलाई जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले सम्बन्धी विद्यालयमा पुगेर ब्याग झोला सहित शैक्षिक सामाग्री वितरण गरेको थियो । 

गाउँपालिकामा माझी समुदायको आर्थिक अवस्था कमजोर छ । एक वर्ष अघि मात्रै कुम्मायक ५ नम्बर वडाका जनप्रतिनिधिले ५० हजार रकम संकलन गरी सोही वडाका सुकुम्बासी होमबहादुर माझीलाई लालपुर्जा वितरण गरेका थिए । उनीहरू तेह्रथुमको तमोर किनारमा बस्दै आएका थिए ।

सुकुम्बासी परिवारलाई वडाले तमोर कोरिडोर सडकमा जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेका छन् । घर छाउन आवश्यक पर्ने जस्तापाता गाउँपालिकाले निःशुल्क उपलब्ध गराएपछि सडकमै व्यवसाय सञ्चालन गरेर गुजारा टार्दै आएका छन् ।