यासोक । गत कार्तिक महिनामा आएको अविरल वर्षादको कारण पाँचथर जिल्लामा जनधनको ठुलो क्षति भयो । क्षतिका कारण घरबार विहीन भएका नागरिकलाई स्थानीय सरकार र दाताहरूले सहयोग गर्दै आएका छन् ।
जिल्लाका तीन स्थानीय तहका बाढी र पहिरो पीडित नागरिकलाई याक्थुङ कुरुम्वाङ सङजुम्भो काठमाण्डौले सहयोग गरेको छ । जिल्लाको मिक्लाजुङ, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका ६७ घरधुरीलाई राहत सङजुम्भोले वितरण गरेको हो ।
मिक्लाजुङको आरुबोटे, तुम्बेवाको हाङगुम र फाल्गुनन्द गाउँपालिकाको आङसराङका ६७ घरधुरीलाई राहत वितरण गरिएको हो । तीन वटै गाउँपालिकाका बाढी र पहिरो पीडित कुरुम्बाङ परिवारहरूको क्षतिको तीन वर्गमा वर्गीकरण गर्दै प्रति घरधुरी ७ हजार, २० र २५ हजारका दरले ६७ घरधुरीलाई रकम वितरण गरेको सङजुम्भोका केन्द्रीय महासचिव हिमाल कुरुम्बाङले जनाए ।
सङजुम्भोले अमेरिका, बेलायत, युके, हङ्कङ, काठमाडौँ र सुनसरीबाट रकम संकलन गरी पीडितलाई सहयोग गरेको थियो ।
त्यस्तै, ब्रेन ट्युमरको समस्यामा परेका हाङ्सिङ कुरुम्बाङलाई २० हजार र बाढी पहिरोबाट घाइते बुधमाया माखिमलाई ३० हजार रकम सहयोग गरेको सङजुम्भोले जनाएको छ ।
राहत वितरण कार्यक्रममा सङजुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङ, केन्द्रीय सदस्य प्रेम कुरुम्बाङ, सुनसरी अध्यक्ष हर्क कुरुम्बाङ, पाँचथर अध्यक्ष रणधोज कुरुम्बाङ, राहत वितरणका सल्लाहकार दिलेन्द्र कुरुम्बाङ लगायतको उपस्थिति रहेको थियो ।