पथरी । स्थानीय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरू केही वडा कार्यालयहरू डेरामा बसेका थिए भने केही पुरानै गाविसको भवनमा कार्यालय सञ्चालन गरी जनताको सेवा गर्दै आएका थिए ।

डेरामा कार्यालय सञ्चालन हुँदा असहज तरिकाले जनताका सेवा गर्दै आएका जनप्रतिनिधि र कर्मचारीहरू पछिल्लो समयमा आफ्नो वडाको भवनबाट सहज तरिकाले सेवा दिँदै आएका छन् । जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको अन्त्यमा प्राय सबै पालिकाको आ–आफ्नै वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकेको छ । यसको साथै अहिले सिंहदरबार जनताको घरघरमा आएको जनताले महसुस गरेको छ ।

कार्यालय डेराबाट वडामा सर्ने क्रममा शुक्रबार मोरङ पथरीशनिश्चरे–८ नम्बर वडा आफ्नै वडा कार्यालयमा सरी सेवा दिन थालेको छ । वडा कार्यालयको नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट र नगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

वडा कार्यालयसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन पनि सोही दिन रिबन काटेर उद्घाटन गरेका थिए । भवन उद्घाटनको अवसरमा वडा भवन निर्माणको लागि जग्गा खरिद गर्न रकम प्रदान गर्ने मिलन राई, लक्ष्मीप्रसाद गुप्ता, रामबहादुर भट्टराई लगायत ४८ जनालाई सम्मान पत्रले सम्मान थिए । उनीहरूले २० हजार देखी माथि रकम दिएका थिए ।

त्यसै गरी ८० वर्ष भन्दा माथिका रामबहादुर माझी, दलबहादुर देवान, धनमाया पौडेल, पूर्णबहादुर दर्लामी, नर्बदा अधिकारीलाई करुवा र दोसल्लाह ओढाएर सम्मान गरेका थिए । 

त्यसै गरी सामुदायिक विद्यालयमा सहयोगी कार्यकर्ताहरू सुनिता खरेल र दुर्गा कुमारी घिमिरे (मिलन आवि), सुनिता कार्की, मनिता गौतम (बुद्ध मावि), भीमकुमारी सुवेदी (दुर्गा आबि), महिला स्वयम सेविका सरस्वती चौधरी, मञ्जु बस्नेतलाई कदर पत्र र  नगद ५ हजारको दरले सम्मान गरेका थिए । कार्यक्रममा नगर प्रमुख राई, उपप्रमुख बिष्ट र प्रमुख प्रशासकीय अधिकृत खरेलले सम्मान गरेका थिए । वडा सचिव ललिता लावतीले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्ष बाबुराम दाहालको सभापति रहेको थियो ।

त्यस्तै मङ्सिर २२ गते पथरीशनिश्चरे –२ नम्बर वडा कार्यालयको भवन पनि व्यापक कार्यक्रम गरी उद्घाटन गरेका थिए । भवनको नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलाले भवनको रिबन काटेर उद्घाटन गरेका थिए । ४ वर्ष अघिबाट कार्यालय डेराबाट सेवा प्रवाह गर्दै आएको थियो ।

२ नम्बर वडाका पञ्च कुमार राई, दुर्गा खतिवडा, दिपक खतिवडा र रामभक्त राईले संयुक्त रूपमा ५ कट्ठा जग्गा वडा कार्यालयको नाममा निःशुल्क दिएपछि नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गरेको थियो ।

उद्घाटन कार्यक्रममा जग्गादाताहरू पन्च कुमार राई र सृजना राईबाट १ कठ्ठा १८ धुर, दुर्गा खतिवडा र सुजात खतिवडाबाट १ कठ्ठा १० धुर, दिपक खतिवडा र कमला खतिवडाबाट १ कठा २ धुर, रामभक्त राई र बालिका खतिवडाबाट १० धुर गरी जम्मा ५ कठ्ठा जग्गा दिने जग्गादातालाई वडा कार्यालयले सम्मान पत्र र दोसल्लाले सम्मान गरेको थियो । उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राई र विशिष्ट अतिथि उपप्रमुख बास्तोलाले सम्मान गरेको हो ।

त्यसै गरी वडा नम्बर २ बाट निर्वाचित गाउँ पञ्चायत हुँदै गाविस हुँदासम्मका जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । कृष्णकुमार सुब्बा, स्व. तिलक वान्तवा राई, मोहन तुम्वापो, स्व. सइकुमार राई, पार्थबहादुर बुढाथोकी, रत्न बहादुर बस्नेत, नेत्रप्रसाद दाहाल, अग्नी गुरुङ, पूर्व उपाध्यक्ष पोमप्रसाद दाहाल लगायतलाई सम्मान गरिएको थियो ।वडाध्यक्ष एवं नगरका प्रवक्ता यामप्रसाद गुरागाईँको अध्यक्षतामा भएको थियो ।