यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा मानोपरामर्श तालिम सम्बन्धी १५ दिने तालिम शनिवारदेखि सुरु भएको छ । दिव्यवाणी मिडिया प्रा.लिको सहयोग तथा गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन भएको हो । चालु आर्थिक वर्ष २०७८÷०७९ को ५ लाख रकमबाट ५ वटै वडामा १५ दिनसम्म तालिम सञ्चालन हुने भएको छ । तालिममा प्रत्येक वडाका २५ जना सहभागी हुनेछ ।
पन्ध्र दिनसम्म सञ्चालन हुने तालिमका सहभागीहरूलाई मानसिक पीडा र तनाव रोकथामका उपायहरू, सावधानी लगायतको विषयमा जानकारी दिइने सहयोगी संस्थाका प्रमुख जितेन्द्र भण्डारीले बताए । तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष सिता आचार्यले गरेकी थिइन् । उद्घाटन समारोहमा उनले गाउँपालिकाले मानसिक समस्याले आत्महत्या र जघन्य अपराध बढ्दै गएको भन्दै यस्तो किसिमको समस्यालाई रोकथाम गर्न तालिमले थप सहयोग गर्ने बताइन ।
सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, जी.स.स सदस्य मनमाया लावती लगायतका वक्ताहरूले समाजमा देखिने मानसिक समस्याले निम्त्याएको नकारात्मक प्रभाव कम गर्न तालिमले सहयोग पुर्याउने बताएका थिए । तालिमको सहभागीलाई तुलसा चेम्जाङ र लालअञ्जान सम्बाहाम्फेले सहजीकरण गर्ने छन् । तालिमको उद्घाटन १ नं. वडा अध्यक्ष देवेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।