धरान । मङ्गलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) को विरोधका बीच ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७८’ सहितका ६ अध्यादेश पेश भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेले संसद् अवरुद्ध गरेको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अध्यादेशहरू पेश गरेका थिए । मन्त्री बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरेका थिए ।

त्यस्तै ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गरेका थिए । मन्त्री बडूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट ‘रेल्वे अध्यादेश २०७८’ पनि पेश गरेका थिए ।

एमालेका सांसद्ले कारबाहीका लागि सिफारिस गरिएका सांसद्का विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइ नगरकोे भन्दै संसद् अवरुद्ध गरेका थिए । यसअघिका संसद् पनि अवरुद्ध गर्दै आएका छन् ।

तत्कालीन नेकपा (एमाले) मा रहेका माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिस गरिए पनि हालसम्म कारबाही नगरेको भन्दै एमालेका सांसद्ले त्यसको विरोध जनाउँदै आएका छन् ।

विरोधका बावजुद अध्यादेश पेश गरिए पनि पारित हुने अवस्था सिर्जना भएन । प्रतिनिधिसभाको अर्को बैठक आगामी पुस ६ गते बस्ने तय भएको छ ।