सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले सफाइ पाएका छन् ।
धरानको एक होटलबाट एकजना युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका यादवलाई करिब आठ महिनापछि सुनसरी जिल्ला अदालतले आइतबार सफाइ दिएसँगै उनी हिरासतमुक्त भएका हुन् ।
छैठौं पटकको पेशीमा सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायाधीश टिकेन्द्र दाहालको इजलासले अध्यक्ष यादवलाई सफाइ दिने आदेश दिएको हो ।
गाउँपालिका अध्यक्ष यादवलाई षड्यन्त्रपूर्वक फसाउने प्रयास गरिए पनि त्यो सफल हुन नसकेको बताउँदै भोक्राहा नरसिंह गाउँपालिकाका कानूनी सल्लाहकार पञ्चदेव मेहताले सुनसरी जिल्ला अदालतले सत्यको पक्षमा निर्णय गरेकोमा खुसी व्यक्त गरे ।
जिल्ला अदालतले जेठ २ गते जबरजस्ती करणी आरोपमा इलाका प्रहरी कार्यालय धरानको दाबीबमोजिम मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतमा २०७८ जेठ ३ गते मुद्दा फाँट–६ का न्यायाधीश टिकेन्द्र दाहालकै आदेशमा मुद्दा किनारा नलागेसम्म अध्यक्ष यादवलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
त्यसपछि गत असोज १२ गते स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम, कात्तिक २८ गते बहस नोट पेश गर्न लगाउनेसहित ६ वटा पेशी तोकिएको थियो ।
यस्तो थियो घटना
गत वैशाख ८ गते भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ का ५४ वर्षीय महेन्द्रप्रसाद यादवलाई धरान उपमहानगरपालिका वडा नं. १३ स्थित डुकु होटल एण्ड लजको कोठामा एक युवतीमाथि जबरजस्ती करणी गरेको भनी पीडितबाट प्राप्त सूचनाका आधारमा नियन्त्रणमा लिएको सुनसरी प्रहरीले बताएको थियो ।
इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१३ स्थित धनकुटा जाने सडक किनारमा रहेको डुकु होटलमा एक युवतीसँग यौनजन्य क्रियाकलाप गर्दैगर्दा यादवलाई पक्राउ गरिएको त्यतिबेला सुनसरी प्रहरीले दाबी गरे पनि अन्ततः उनले जिल्ला अदालतबाट आइतबार सफाइ पाएका छन् ।
अध्यक्ष यादवले काममा लगाइदिन्छु भन्दै सुनसरी धरान–१३ स्थित डुकु होटलमा खाजा नास्ता खाने भन्दै लगेर कोठामा पु¥याई जबरजस्ती करणी गरेको भनी पीडितले बयान दिएको सुनसरी प्रहरीले जनाएको थियो । यद्यपि अध्यक्ष यादवका समर्थकहरूले उनलाई षड्यन्त्रपूर्वक फसाउने काम भएको बताउँदै आएका थिए ।
अदालतको निर्णयपश्चात् क्षेत्रीय कारागार झुम्कामा रहेका यादवलाई स्वागत गर्न उनका समर्थकहरू त्यहीँ पुगेका थिए । सफाइ पाएसँगै गाउँपालिका अध्यक्ष पदसँगै यादवले आगामी निर्वाचनमा उम्मेदवारी दिन पाउने बुझिएको छ । आठ महिनापछि हिरासतमुक्त भएका गाउँपालिकाका अध्यक्षले आफूलाई षड्यन्त्रपूर्वक फसाउने प्रयास गरिए पनि सम्मानित जिल्ला अदालतको निर्णयले सत्यको जित भएको बताए ।