विजयपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नाममा पहिचान जोडिने बताएका छन् ।
किरात राई यायोक्खा सुनसरीको नवौं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ पहिचानसँग जोडिएको प्रदेश भएकाले स्वतः पहिचान जोडिएर नामकरण हुने दाबी गरे ।
उनले आफूले पहिलेदेखि नै प्रदेशको नाममा पहिचान जोड्नुपर्ने कुरा उठाउँदै आए पनि सुनुवाइ नगरिएको दाबी गरे । उनले भने, ‘पहिलेदेखि पहिचानको कुरा उठाउँदै आएको थिएँ । पहिले देखिने ठाउँमा नहुँदा देखिएको थिएन । अहिले देखिने ठाउँमा छु ।’
उनले हरेक सभ्यताको विकास खोला–नालादेखि भएको त्यो सभ्यताको विकास मानिसले गरेको बताए । १ नं. प्रदेशको सभ्यताको विकास किरातीहरूले गरेका हुनाले नाममा किरात जोडिने बताए । उनले प्रदेशको नाम कोसी र कोसी सभ्यताबारे टिप्पणी गर्दै त्यो सभ्यताको सुरुवात किरातीले गरेको बताए । उनले १ नं. प्रदेशमा आदिमकालदेखि बसोबास गरेको र सभ्यताको सुरुवातसमेत गरेकाले किरातीहरूले हक दाबी गर्न मिल्ने बताए ।
उनले भने, ‘किरातीहरूले यो भूमिमा सबैभन्दा पहिला बसोबास गरे, सभ्यताको सुरुवात गरे, बञ्जर भूमिलाई बस्नयोग्य, खेतीयोग्य बनाए । त्यसैले प्रदेशमा हक दाबी गर्न मिल्छ ।’ उनले किरात सभ्यता सबैभन्दा पुरानो रहेको पनि बताए । आफू पहिचानबाट नै प्रदेशको नामकरण गर्ने पक्षमा रहे पनि प्रदेशसभामा पहिचान पक्षधर सांसद्हरूको सङ्ख्या कम हुँदा सजिलो नभएको बताए । उनले भने, ‘नामको प्रस्ताव संसद्मा लैजान गाह्रो नभए पनि पहिचानको पक्षमा दुईतिहाइ पुर्याउन गाह्रो छ ।’
उनले संसद्को पहिलो पार्टी एमाले र काङ्ग्रेस पनि पहिचानको पक्षमा नभएको बताए । अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईसहित ५ जना सम्मानित भएका छन् ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ सुनसरीका जनकऋषि राई, धुर्पीमाया राई, १ नं. प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई र नेपाल टेलिभिजन इटहरीका प्रमुख पुष्पहरि क्याम्पा राई रहेका छन् ।
सम्मानित धुर्पीमायाले आफ्नो पति क्याप्टेन भीमराज राईको स्मरणमा धरान–१७ को साकेला पार्कमा १५ फिट अग्लो यलम्बरको सालिक स्थापना गरेकी थिइन् ।
उनले किरायाको नगर कार्यसमितिलाई १० र जिल्ला कार्यसमितिलाई १५ हजार नगद पनि हस्तान्तरण गरेकी छन् । कार्यक्रममा मुख्यमन्त्री राईलाई १ नं. किरात प्रदेश नामकरण होस् भन्ने उद्देश्यले किरात प्रदेशको थ्रीडी नक्सा दिइएको थियो ।
कार्यक्रममा यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राई, आदिवासी जनजाति महासङ्घ सुनसरी जिल्ला अध्यक्ष राम माण्डुपा राई, किरात राई युवा सङ्घका पूर्वअध्यक्ष भीम राई, यायोक्खा सुनसरीका पूर्वअध्यक्ष मुगाधन राईलगायतले सम्बोधन गरेका थिए ।