नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीका नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
शुक्रबार धरान १४ स्थित पार्टी कार्यालयमा सर्वसम्मत चुनिएका ८० जना नगर कमिटीका सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य किरण राईको प्रमुख आतिथ्यमा सम्पन्न शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै राईले सबै एकजुट भए माओवादीको २०६४ सालको विरासत फर्काउन गाह्रो नहुने बताएका छन् ।
नेता राईले क्रान्तिकारी पार्टीमा एकले अर्कोलाई देख्दा एलर्जी हुने र गुटबन्दी गर्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् । विभिन्न मनोविज्ञानहरू बिच बहस र छलफलमार्फत खारेर धरानको सर्वसम्मत सदस्यहरू चयन हुँदा उत्साह जगाएको उनको तर्क थियो । उनले अब पार्टीलाई गतिशील बनाउन योजनाहरू ल्याउने, कार्यान्वयन सफलतापूर्वक गर्ने पदाधिकारी पनि सर्वसम्मत चयन गर्ने जिम्मेवारी रहेको पनि राईले बताएका छन् ।
त्यस्तै सोही क्रममा नेता मुक्साहाङ मेन्याङ्बोले समस्या हुँदा पार्टी छोडिहाल्ने प्रवृत्ति त्यागेर लाल र निपुण कार्यकर्ता बन्न आग्रह गरेका छन् । उनले जलाधार भएको, इमानदार नेता, कार्यकर्ता बन्न सुझाव दिँदै एकले अर्कोलाई निषेध गरेर पार्टी नबन्ने पनि बताएका छन् ।
उनले धरानमा २०६४ सालको विरासत फर्काउन कुनै समस्या नभएको तर झिना मसिना कुरामा अल्मलिन नहुने बताएका छन् । कार्यसमितिमा चुनाव भएको भए नेता, कार्यकर्ता र जनता पनि विभाजित हुने भन्दै मेन्याङ्बोले खराब परिस्थिति आउन नदिन सहमतिको प्रक्रियाबाट अघि बढेको बताए ।
त्यस्तै अर्का नेता अइन्द्र बिक्रम बेघाले माओवादी आन्दोलनलाई फुटेर नभै जुटेर गर्नुपर्ने बताएका छन् । विपक्षी शक्तिहरू पनि फुटिरहेको भन्दै धरानको माओवादी आन्दोलन १ नम्बरको बन्ने बताएका हुन । सयौँ कार्यकर्ता सहभागी उक्त कार्यक्रममा निर्वाचित सदस्यहरूलाई अबिर खादा लगाएर शुभकामना दिएका थिए । हाल ‘धरानमा माओवादी केन्द्रको ३५ सय क्रियाशील सदस्य रहेको पनि पार्टीले जनाएको छ ।