इनरुवा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ओलीको एमाले समाप्त भइसकेको टिप्पणी गरेका छन् ।
ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेकाले पार्टीको कुनै अस्तित्व नरहेको नेपालको भनाइ थियो । नेता नेपालले एमालेभित्र अब छिट्टै पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउनेसमेत बताए ।
सुनसरीको इटहरीमा आयोजित पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा नेता नेपालले त्यस्तो बताएका हुन् । सो क्रममा नेपालले ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए ।
नेपालले भने, ‘ओलीको त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन, माक्र्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिइयो । नारायणी नदीमा बगाइयो । त्यसैले एमाले अब एमाले रहेन ।’ उनले थपे, ‘पार्टीको झण्डा उठाउन एमालेले अब कार्यकर्ता भेट्ने छैन, महाधिवेशनमा गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा पुग्नेछ । बाँकी आफैं बुझ्नुस् ।’
नेता नेपालले ओलीको एमाले भन्दा आफ््नो पार्टी देशभर मजबुत बन्दै गएको बताए । उनले गठबन्धनको सरकारमा सहभागी दलका सामुन्ने अब ओलीको केही नलाग्ने ठोकुवासमेत गरे ।
कार्यक्रमलाई सम्बोधनका क्रममा नेता नेपालले एमालेभित्र रहेका नेताहरूको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गरे ।