विराटनगर । काँग्रेस प्रदेश १ को समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ । कोइराला परिवारको बलियो पकड भएको प्रदेशमा यस पटक संस्थापन शेरबहादुर देउवा पक्ष शक्तिशाली उपस्थिति देखाएको छ ।
काँग्रेसको प्रदेश १ को सभापतिमा संस्थापन पक्षका सभापतिका उम्मेदवार उद्धव थापा र उनको समूहले पदाधिकारीहरूमा बहुमतका सिटमा विजय हासिल गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल – डा. शेखर कोइराला समूहका सभापतिका आकांक्षी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।
सोमबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार थापाले ८ सय ४४ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा घिमिरेले ८ सय ४२ मत मात्र पाएका छन् । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका थापालाई सभापति शेरबहादुर देउवा पक्षले समर्थन गरेका थिए ।
सभापतिका अर्का उम्मेदवार केन्द्रीय सदस्य घिमिरे झिनो मत अन्तरले पराजित भए ।
सभापतिसहित अधिकांश पदमा देउवा–सिटौला पक्षले जितेको छ । त्यस्तै उपसभापतिका २ पदमा रमेशजङ्ग रायमाझीले ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी जित हासिल गरे । महामन्त्रीका २ पदमा जितेका भूपेन्द्र राईले ८ सय २४ र उमेश थापाले ८ सय २३ मत हासिल गरे ।
महिलातर्फको सह– महामन्त्रीमा प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजय प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी सीता कार्कीले ७ सय ३३ मत प्राप्त गरिन् । खुलातर्फको सह–महामन्त्रीमा खड्ग फागोले १ हजार २६ मत र विनोदकुमार बस्नेतले ७ सय ४७ मत ल्याएर विजयी भए । उर्लाबारी नगरपालिका मेयर समेत रहेका फागोले पदाधिकारीमा सर्वाधिक मत ल्याएर सह–महामन्त्रीमा निर्वाचित भएका हुन् ।
यद्यपि घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन् । संस्थापन इतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले बताएका छन् ।
को हुन् थापा ?
काँग्रेस प्रदेश १ का सभापतिमा निर्वाचित भएका उद्धव थापा वि.सं. २०३४ सालमा काठमाण्डौंको शंकरदेव क्याम्पसबाट नेविसंघ इकाईबाट राजनीतिक जीवन सुरु गरेका हुन् । उनी २०३५ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय थिए ।
थापाले बीपी कोइरालाको सुरक्षा दस्तामा रहेर पनि काम गरेका थिए । उनले झापाको अर्जुनधारा गाउँ समितिमा पार्टीको सचिव÷सभापतिको हुँदै २ नम्बर क्षेत्रको क्षेत्रीय सभापति, काँग्रेस जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् ।
सभापतिमा निर्वाचित भएका थापाले काँग्रेसलाई बदलिँदो परिवेशमा लोकतान्त्रिक मूल्य मान्यतासहित दर्बिलो रूपमा अघि बढाउन लागि पर्ने बताएका छन् । आफू सङ्घीय गणतन्त्रको मर्मअनुसार काँग्रेसलाई प्रदेशमा झन् मजबुत बनाएर अघि बढाउने उनले बताए ।