भद्रपुर । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगर कार्यपालिकाको आठौँ नगर सभाबाट पारित ८३ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम नगरपालिकाले आइतबार एक समारोहका बीच सार्वजनिक गरेको हो ।
भद्रपुर–६ स्थित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमको सभा हलमा आयोजित समारोहमा प्रदेश सांसद्हरू गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र पूर्णसिंह राजवंशीले बजेट, नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरेका हुन् ।
आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार र पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख गरी कुल ८३ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज प्रसाईंले जानकारी दिए ।
यस बजेटमा नेपाल सरकारबाट सोझै भुक्तानी हुने कार्यक्रमहरू बापत प्राप्त हुने रकमलाई समावेश नगरिएको उनले जनाए । नगरपालिकामा जनप्रतिनिधि आएपछि चार वर्षे कार्यकालमा गत २०७७ साल पुस ७ गते प्रदेश १ कै पहिलो बालमैत्री नगर घोषणा, २०७५ साल मङ्सिर १३ गते खुला दिसामुक्त नगर घोषणा, २०७५ साल असोज ७ गते पूर्ण खोपयुक्त नगर घोषणा गरिएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
साथै शैक्षिक, युवा तथा खेलकुद, कृषि, स्वास्थ्य, पर्यटन, समावेशी र लक्षित वर्ग, भौतिक पूर्वाधार उद्यमशीलता तथा रोजगार, घर नक्सा, सूचना तथा प्रविधि, विपद् व्यवस्थापन, आन्तरिक राजश्व परिचालन, प्रशासनिक व्यवस्थापनमा उल्लेख्य काम गरेको उनले बताए ।
नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद्हरू श्रीप्रसाद मैनाली, पूर्णसिंह राजवंशी, ओमप्रकाश सरावगी, नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी नेत्र घिमिरे र सामाजिक विकास शाखाका प्रमुख जीवनकला राउतले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा नगरपालिकाले पूर्व जनप्रतिनिधिहरू, उत्कृष्ट करदाता, स्वास्थ्यकर्मी, नगर प्रहरी, ज्येष्ठ नागरिक, उत्कृष्ट कृषक, सहकारी, सङ्घ–संस्था, बाल सञ्जाललगायत गरी ७१ जनालाई सम्मान गरिएको थियो ।