विराटनगर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत भरत थापाका  अनुसार शनिबार राति साढे ७ बजे सम्पन्न भएको मतदानमा १ हजार ७ सय ५२ मत खसेको छ । शनिबार बिहान ८ बजे मतदान गर्ने भनिए पनि सदस्यका उम्मेदवारकै नाम छुटेपछि विवाद हुँदा दिउँसो २ बजेबाट सुरु भएको थियो ।

६ घण्टा ढिलो गरी सुरु भएको मतदान राति साढे सात बजे सकिएको निर्वाचन अधिकृत थापाले बताए । प्रदेश मतदानका लागि १ हजार ८ सय ४ प्रदेश प्रतिनिधिहरू छनौट भएका थिए । ५२ जना प्रतिनिधि अनुपस्थित रहेका छन् ।  प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।

मतगणनाका लागि दुवै पक्षसँग छलफल गरेर नेपाली काङ्ग्रेस मोरङको पार्टी कार्यालयमा आइतबार बिहान ८ बजेदेखि हुने सहमति भएको काङ्ग्रेस विराटनगरका सभापति दीपक चापागाईंले जानकारी दिए ।

प्रदेश नेतृत्वका लागि संस्थापन पक्षबाट झापा काङ्ग्रेसका पूर्वसभापति उद्धव थापा टिमसहित चुनावमा होमिएका छन् । यस्तै इतर पक्षबाट काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे टिमसहित चुनाव होमिएका छन् ।

सभापतिमा उम्मेदवारी दिएका घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र डा.शेखर कोइरालाको समर्थन छ । थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहको पनि समर्थन छ ।

९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी
नेपाली काङ्ग्रेस प्रदेश १ मा  ९ जना पदाधिकारीको लागि २० जना चुनावी मैदानमा छन् । प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुङ्गाना, टङ्क राई, विश्वनाथ रिजाल र रमेशजङ रायमाझीले उम्मेदवारी दिएका छन् ।

२ जना महामन्त्रीका लागि दीपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्वा तथा सह–महामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेदवारी दिएका छन् ।

काङ्ग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारूतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसङ्ख्यक र अपाङ्गमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।