विराटनगर । नेपाली काँग्रेस मोरङका संस्थापन समूहले पार्टीमा गलत प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । मोरङको निर्वाचन परिणाम सार्वजनिक भए लगतै बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढङ्गको व्यवहार प्रदर्शन गरिएको टिप्पणी गरेका हुन् ।

शक्ति र सामर्थ्यका अगाडि पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन खोज्नेहरूलाई योजनाबद्ध रूपमा पराजित गराइएको नेता अर्यालको भनाई छ । उनले क्रियाशील सदस्यता वितरणबाट सुरु भएको षड्यन्त्र निर्वाचन स्थल कब्जा गर्नेदेखि लामो समय पार्टी राजनीतिमा योगदान गरेकाहरूलाई वडा तहमै हराउनका लागि ठुलो धनराशि खर्च गर्नेसम्मका गतिविधिले भएको आरोप लगाए । 

पछिल्ला गतिविधिले नेपाली काँग्रेसलाई कमजोर बनाएको र आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ बनाउने प्रयत्नमा बाधा पुगेको उनले बताए । यस प्रकारको प्रवृत्तिले पार्टीको हित नगर्ने र आगामी दिनमा आउँदै गरेको स्थानीय तह र अन्य निर्वाचनहरूमा पनि क्षति हुनसक्ने उनले चिन्ता व्यक्त गरे ।

नेपाली काँग्रेस मोरङको सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदार पराजित भएका थिए । काँग्रेस नेता डा. शेखर कोइराला समर्थित समूहका उम्मेदवार डिकबहादुर लिम्बू निर्वाचित भए । आफूहरू पार्टीभित्र गुटका आधारमा लामो योगदान भएका नेताहरूलाई अपमान गर्ने र उनीहरूलाई भूमिकाविहीन बनाएर जान नहुने पक्षमा रहेको पनि बताए । 

नेता अर्यालले प्रदेशको नेतृत्व पनि सहमतिका आधारमा अघि बढाउने पक्षमा आफूहरू रहेको बताएका छन् । संस्थापन इतर पक्षले उम्मेदवारी घोषणा गरिसकेपनि सहमति बनाउन भोलिसम्म कुर्ने उनले बताए ।