विराटनगर । नेपाली काँग्रेस मोरङ जिल्लाको सभापतिमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू दोस्रो पटक विजयी भएका छन् ।

संस्थापन पक्षका शेरबहादुर देउवा क्याम्पका प्रत्याशी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पछि पार्दै लिम्बू दोस्रो पटक जिल्ला सभापतिका पदमा निर्वाचित भएका हुन् । बुधबार सार्वजनिक परिणाम अनुसार लिम्बूले १ हजार ९ सय ६ मत र प्रतिद्वन्द्वी गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका छन् ।

मङ्गलबार दोस्रो चरणमा भएको जिल्ला सभापतिका चुनावमा सभापति लिम्बू विजयी भएका हुन् । यसअघि आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि मङ्गलबार दोस्रो चरणको निर्वाचन भएको थियो ।

लिम्बू यसअघि पनि पार्टीको मोरङ जिल्ला सभापति नै थिए । उनी २०७२ माघ २५ गते पहिलो पटक जिल्ला सभापति चुनिँदा देउवा क्याम्पबाट जितेका थिए । तर विगत ३ वर्षदेखि उनी कोइराला क्याम्पमा छन् ।

लिम्बूलाई जिताउन केन्द्रीय सभापतिका उम्मेदवार डा. शेखर कोइराला र रक्षा मन्त्री डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य महेश आचार्य विराटनगरमै बसेका थिए ।त्यस्तै, गच्छदारलाई जिताउन पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल र राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझी सक्रिय थिए । आफू बलियो भएको देउवा पक्षको दाबीलाई गलत सावित गर्दै सस्थापना इतरका लिम्बुले चुनावी जीत हात पारेका छन् । केन्द्रमा बनेको शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाबिचको नयाँ समीकरण मोरङमा पनि लागु भएको थियो ।

मोरङ काँग्रेसको चुनावकै सिलसिलामा नेता सिटौला दुई दिन विराटनगरमा बसेर देउवा पक्षसँग मिलेका थिए । उनकै पक्षका भनेर चर्चा हुँदै आएका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सोमबारबाट आफूलाई खुलाउँदै औपचारिक रूपमा देउवा पक्षका उम्मेदवारलाई सघाउने घोषणा गरेका थिए ।

जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यको मतगणना जारी रहेको मोरङ काङ्ग्रेसले जनाएको छ ।