धरान । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबबाट व्यावसायिक फुटबलर खेलिरहेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले फेरि एकपटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

यसपटक धेरैले बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्दै आएका पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले पाउने अनुमान गरेका थिए । तर, उक्त अनुमान विपरीत सातौं पटक बालोन डी’ओर मेस्सीले जितेका हुन् । मेस्सीले यसैवर्ष कोपा अमेरिकामा आफ्नो देशलाई ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसअघि ६ पटकसम्म उनले बालोन डी’ओर जितिसकेका छन् । स्पेनको क्लब बार्सिलोनाबाट हालै पिएसजी सरुवा भएका मेस्सीले अवार्ड हातपारेपछि खुसी व्यक्त गरेका छन् ।

उनले अवार्ड वितरण कार्यक्रममा भनेका छन्, ‘आज म निकै खुसी छु, म यहाँ छु, आफ्नो उद्देश्य पूर्तिका लागि अझै म लडाइँमै छु । मलाई थाहा छैन, अझै कति वर्षसम्म म यसरी नै फुटबलको मैदानमा हुनेछु । तर, म सन्तुष्ट छु । म धन्यवाद दिन चाहन्छु मेरा टिममेट बार्सा, पिएसजी एवम् अर्जेन्टिनीलाई ।’

३४ वर्षीय मेस्सीले राष्ट्रिय टिमबाट झण्डै झण्डै सन्यास लिएको अवस्था थियो । उक्त अवस्थापश्चात् देशका अग्रज फुटबलर तथा फ्यानहरूले मैदानमा देख्न चाहेको बताएपश्चात् उनी फेरि अर्जेन्टिनाको जर्सीमा देखिएका हुन् । बार्सामा आफ्नो उचाइ चुमे पनि आफ्नो देशलाई महŒवपूर्ण उपाधि दिलाउन नसकेका कारण उनी आलोचित थिए ।

विश्वकप तथा कोपा अमेरिका गरी चार पटक फाइनलमा पुग्दा पछिल्लो सालमा मात्रै उपाधि जिताउन सफल बनेका हुन् । कोपा जिताएसँगै उनलाई ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को अवार्ड पनि दिइएको थियो । गत सिजनमा बार्सिलोनालाई कोपा डेल रेको च्याम्पियन बनाएका थिए ।

मेस्सीले ६ सय १३ अङ्क प्राप्त गरेका थिए भने लेवान्डोस्कीले ५ सय ८० अङ्क प्राप्त गरे । लेवान्डोस्कीले भने ‘स्ट्राइकर अफ दी इयर’ को पुरस्कार जिते । पाँचपटकका बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डो भने छैठौं नम्बरमा समेटिएका थिए । उनी सन् २०१० यता पहिलोपटक शीर्ष ३ मा अटाउन सकेनन् ।

फुटबलको उत्तराद्र्धमा रहेका रोनाल्डो हाल इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन् । उनीभन्दा अगाडि चेल्सीबाट खेल्दै आएका इटालीका जर्गिन्हो, फ्रान्सका करिब बेन्जेमा, एङ्गोलो कान्टे रहेका थिए । बालोन डी’ओरको मुख्य दाबेदार मानिएका लेवान्डोस्कीले गत सिजनमा २५ गोल गरेका थिए ।

३३ वर्षीया लेवान्डोस्कीले यस सिजनमा २० गोल गरिसकेका छन् । जर्गिन्होलाई पनि दाबेदार मानिएको थियो । गत सिजनामा उनको क्लबले च्याम्पियन्स लिग र इटालीले युरो कप २०२० जितेको थियो । उनलाई दाबेदार मानिए पनि तेस्रोमा सीमित रहेका थिए । मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा अवार्ड हातपारेका थिए । फ्रान्सबाट प्रकाशित हुने फ्रान्स फुटबलले हरेक वर्ष यो अवार्ड दिँदै आएको छ ।

सन् १९५६ देखि दिँदै आएको भए पनि सन् २००९ बाट मात्रै बालोन डी’ओर नामबाट दिन थालिएको हो । सन् २०१० देखि २०१५ सम्म फिफा बालोन डी’ओर भनिएको भए पनि त्यसपश्चात् फिफाले आफ्नै किसिमले पुरस्कार वितरण गर्दै आएको छ । यता महिलातर्फको बालोन डी’ओर भने बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेकी स्पेनकी एलेक्जिया पुटेलासले पाएकी छन् ।

२७ वर्षीय मिडफिल्डर पुटेलासले पहिलोपटक अवार्ड हात पारेकी हुन् । ४२ खेलमा उनले २६ गोल गरेकी उनलाई अवार्ड दिइएको हो । च्याम्पियन्स लिग जिताउन सफल उनलाई युफा वुमन्स प्लेयर अफ दी इयर पनि घोषित भएकी थिइन् । क्लब अफ दी इयरको अवार्ड भने इङ्लिस क्लब चेल्सीले पाएको छ ।