धरान । धरान–१४ मा ‘दोस्रो वडाध्यक्ष रनिङ कप’ सुरु भएको छ । विजयपुर बोर्डिङ स्कुलको खेल मैदानमा मङ्गलबारबाट सुरु भएको कपमा साविक विजेता नयाँ टोलको टिमलाई पिण्डेश्वरको टिमले ४–० गोलले पराजित गरेको छ ।

प्रतियोगितामा सविन तामाङले दुई गोल गर्दा निमेस तामाङ र अङ्कित न्यौपानेले एक–एक गोल गरे । खेलको म्यान अफ दी म्याच पिण्डेश्वरका सविन तामाङ घोषित हुँदै नगद ३१ सय रुपैयाँ पाए ।

उनलाई आइडियल बोर्डिङ स्कुलका तर्फबाट १ हजार र वडाध्यक्ष कृष्ण भट्टराईले व्यक्तिगत २१ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए । आज (बुधबार) नारायणपुर र स्कुल टोलका टिमबीच खेल हुँदै छ । 

धरान–१४ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ वटा टोलका टिम सहभागी छन् । प्रतियोगितामा पिण्डेश्वर, नयाँ टोल, गैरीगाउँ, हात्तीसार, नारायणपुर, गणेशचोक र स्कुल टोलका टिम सहभागी छन् ।

प्रतियोगितामा विजेताले नगद ३० हजार रुपैयाँसहित रनिङ ट्रफी पाउनेछ भने उपविजेताले नगद २० हजार रुपैयाँ पाउने वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।

त्यस्तै व्यक्तिगततर्फ सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, म्यान अफ दी म्याचलगायतलाई पुरस्कार दिइने भएको छ । गतवर्ष नयाँ टोलले उपाधि जितेको भए पनि यस वर्ष उद्घाटन खेलमै पराजित बन्न पुगेको छ । गतवर्ष ८ वटा टिम सहभागी बनेका थिए ।

वडाध्यक्ष रनिङ कपकै कारण गोधुली रनिङ कपमा धरान–१४ ले पहिलो पटक उपाधि जितेको थियो । वडाका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षबाट प्रतियोगिता सुरु गरिएको वडाका कार्यालय सचिव अनिस काफ्लेले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन वडाध्यक्ष भट्टराईले गरेका थिए भने कार्यक्रममा वडासदस्यहरू मञ्जिल कसजु, शोभा पुलामी मगर, मनिषा विक, बुद्धिजीवी गोविन्द तिम्सिना, प्रा.डा. भरत भट्टराई, १२ वटा टोल विकास समितिका अध्यक्षलगायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।