विराटनगर । आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । आईटीएफ तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका अवसरमा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको हो । 

सम्मानित भएका खेलाडी तथा प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरे । संघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रवीण कार्कीले वार्षिक उत्सवका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङ्गलाई सम्मान गरिएको जानकारी दिए । 

पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बू रहेका छन् । त्यस्तै आईटीएफ तेक्वान्दोमा मोरङका राजेन्द्र धिमाल प्रदेशकै उत्कृष्ट प्रशिक्षक र मोरङकै नितेश खवास उदियमान प्रशिक्षक घोषित भएको कार्कीले बताए । 

आईटीएफमा प्रदेश १ कै उत्कृष्ट जिल्ला सुनसरी बनेको छ । मोरङको कानेपोखरी डोजाङ्गलाई पनि उत्कृष्ट घोषित गर्दै सम्मान एवं पुरस्कृत गरिएको जानकारी कार्कीले दिए । उत्कृष्ट प्रशिक्षक, खेलाडी, जिल्ला र डोजाङ्गलाई मुख्यमन्त्री राईले नगद ५ हजार रूपैयाँ पुरस्कार राशिसहित सम्मान पत्र प्रदान गरेका हुन् । 

कार्यक्रम बोल्दै मुख्यमन्त्री राईले आत्मरक्षा र अनुशासनका लागि खेल प्रत्येक व्यक्तिको जीवनमा अपरिहार्य एवं महत्वपूर्ण रहेको बताए । तर कहिल्यै पनि खेल क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे । अब भने प्राथमिकतामा राखेर खेल क्षेत्रको विकासमा प्रदेश सरकार केन्द्रित हुने राईको भनाइ छ । 

‘आत्मरक्षा र अनुशासनका लागि आईटीएफ तेक्वान्दो सबैको प्राथमिकतामा पर्ने गरेको छ,’ उनले भने, ‘नेपालमा आईटीएफ तेक्वान्दोको स्थापनाका लागि मेरो पनि महत्वपूर्ण योगदान छ ।’

आईटीएफ मार्सल आर्टसभित्रको सबैभन्दा सफल खेलका रूपमा स्थापित भइसकेको बताउँदै राईले खेल क्षेत्रले मुलुककै उचाई बढाउन ठूलो योगदान गरिरहेको उल्लेख गरे । 

आईटीएफ तेक्वान्दोकै माध्यमबाट मुलुकमा धेरै खेलाडीले सफलता प्राप्त गरिरहेको उनको भनाइ छ । मार्सल आर्टसभित्रको महत्वपूर्ण खेल आईटीएफ तेक्वान्दोको विकासका लागि प्रदेश सरकारले आफ्ना तर्फबाट सक्दो प्रयास गर्ने उनले बताए ।

प्रदेश सरकारसँग बजेट अभाव रहे पनि अब खेलकुदको विकासका लागि योजना बनाएरै अघि बढ्ने तयारी सरकारको रहेको मुख्यमन्त्री राईले बताए ।