भद्रपुर । झापामा रहेका पन्ध्र वटा स्थानीय तहमा दुइ चरणमा मतदाता नामावली सङ्कलन कार्यक्रम शुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार वसेको सर्वदलीय बैठकले मतदाता नामावली कार्यक्रमका बारेमा जानकारी दिइएको हो । 

कार्यक्रम यही मङ्सीर १७ गतेदेखि शुरु हुने  जनाइएको छ । पहिलो चरणमा मङ्सीर १७ देखि पुष २ गतेसम्म र अर्को चरणमा पुष ४ देखि पुष १८ गतेसम्म मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालय प्रमुख तुलसी नेपालले बताए ।

बिर्तामोड , अर्जुनधारा , हल्दिवारी , कमल , शिवसताक्षी र कनकाईमा पहिलो चरणमा पुष २ गतेसम्म सञ्चालन हुने उनले जानकारी दिए । मेचीनगर , बुद्धशान्ति , कचनकवल, गौरादह , झापा र बाह्रदशीमा दोस्रो चरणमा पुष ४ देखि पुष १८ गतेसम्म सञ्चालन हुने निधो भएको उनको भनाइ छ । 

जिल्लाको भद्रपुर , गौरीगञ्ज र दमकमा पहिलादेखि नै पोस्ट सञ्चालनमा रहेको छ । २०७० र २०७४ को निर्वाचनमा मतदाता परिचयपत्र नपाउनेहरुको लागि स्थानीय तहमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गरिने नेपालले बताए । जिल्लाका १२ वटा पालिकामा मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा दर्तास्थल व्यवस्थापक र दर्ता कर्मचारीको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

झापामा अहिले ६ लाख ९० हजार ३१४ जनाको मतदाता नामावलीमा नाम रहेको छ । २०७० र २०७४ को निर्वाचनमा छुट्ने करिब ५५ हजार रहेको अनुमान गरिएको छ । तीमध्ये ३० हजारलाई मतदाता नामावली सङ्कलन कार्यक्रममा समेट्ने लक्ष्य रहेको उनले जानकारी दिए । त्यस्तै बाहिर जिल्लाका आउट डिस्ट्रिक रजिष्ट्रेशनअन्तर्गत ५ हजार जनाको नामावली सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए । 

जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मतदानको अधिकारबाट कसैलाई पनि वञ्चित नगराउनका लागि यो अभियानलाई सफल बनाउन आव्हान गरे ।