धरान । ‘अन्डर २१ प्रथम वाइओडी च्यारिटी क्रिकेट टुर्नामेन्ट’ को उपाधि पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको टिमले जितेको छ ।

धरान–१५ खोरिया बस्तीस्थित रङ्गशालामा शनिबार सम्पन्न प्रतियोगितामा पूर्वाञ्चलले आयोजक युथ अन डेस्टिनी (वाइओडी) लाई ४ विकेटले पराजित गरेको हो । टस जितेर मैदानमा उत्रिएको आयोजकले कुल १२ ओभरमा १ सय ३ रन बनाएको थियो भने जवाफी मैदानमा उत्रिएको पूर्वाञ्चलले ४ विकेट रहँदै १ सय ४ को लक्ष्य भेट्टाएको हो ।

विजेता पूर्वाञ्चलले नगद १५ हजार र उपविजेता बनेको आयोजकले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । प्रतियोगितामा आयोजकबाट कप्तान रोशन साह मेन अफ दी सिरिज घोषित हुँदै ट्रफी पाए । उनले खेल अवधिभर ७६ रन र ८ विकेट लिएका थिए ।

त्यस्तै आयोजककै रिसभ श्रेष्ठ बेस्ट ब्याट्समेन घोषित भए । उनले कुल १ सय २६ रन गरेका थिए । पाँच विकेट लिएका आयोजककै निश्चल साह बेस्ट बलर घोषित हुँदै ट्रफी, मेडल र प्रमाण–पत्र पाए ।

मङ्सिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ वटा टिम सहभागी थिए । प्रतियोगिताबाट सङ्कलित रकम सडक मानवका लागि खर्च गर्ने योजना बनेको क्लबका अध्यक्ष आशिष बराइलीले जानकारी दिए । उनीहरूले त्यसका लागि ‘न्यानो माया’ नामक कार्यक्रम तय गरेका छन् । सय जना सडक मानवलाई कपडा वितरण गर्ने लक्ष्य लिएको उनले बताए ।

क्रिकेटका कप्तान रोशन साहले धरानका युवापुस्तामा क्रिकेट खेलप्रति रूचि जाग्दै गएको बताए । यसै वर्ष गठित संस्थाले युवा सशक्तीकरण, सडक कुकुरको व्यवस्थापन तथा स्वास्थ्योपचार र मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्दै आएको अध्यक्ष बराइलीले बताए ।