विराटनगर ।  श्रम ऐन अनुसार सेवा सुविधा माग राख्दै आन्दोलनमा उत्रिएका श्रमिकहरूले मङ्सिर १२ गते विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी – आइसीपीमा हडताल गर्ने भनिएको कार्यक्रममा तत्कालको लागि स्थगन गरेको छ । आइसीपीमा कार्यरत मजदुरहरूले घोषणा गरेका हडताल दुई साताको लागि स्थगन गरेका हुन् । 

श्रम तथा रोजगार कार्यालयले मजदुरहरूका मागका विषयमा सर्वपक्षीय वार्ता आव्हान गरेपछि मजदुरहरूले मङ्सिर १६ गतेसम्मको लागि वार्ता स्थगित गरेको विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

श्रम ऐनले तोकेको सेवा सुविधासहित ९ बुद्धे माग राख्दै समाजवादी कारखाना श्रमिक संघको अगुवाइमा आइतबारदेखि आइसिपी अगाडी हडताल गर्ने पत्रकार सम्मेलन गरी चेतावनी दिएको थियो ।  त्यस लगत्तै श्रम तथा रोजगार कार्यालयले मङ्सिर २६ गते वार्तामा आउन सम्बन्धित निकाय र मजदुरहरूलाई आव्हान गरेपछि हडताल स्थगित गरिएको समाजवादी कारखाना श्रमिक संघ (आइसिपी) इकाई अध्यक्ष शम्भुकुमार यादवले जानकारी दिए । 

आईसिपी परिसरमै रहेको रेल यार्डमा  बसेको समाजवादी कारखाना श्रमिक संघ,समाजवादी ट्रेड युनियन र आइसिपीमा कार्यरत मजदुरहरूको बैठकबाट दुई साता सम्मकालागि हडताल स्थगित गर्ने र वार्ताबाटै अधिकार स्थापित गर्ने प्रयास गर्ने निर्णय भएको जनाइएको छ । एकीकृत भन्सार जाँच चौकी सरसामान आयात निर्यात हुने तथा देशको राजश्व सङ्कलन हुने प्रमुख स्थान रहेकाले बन्द हडताल भन्दा पनि वार्ताबाटै मजदुरका मागहरू सम्बोधन गर्ने कुरा सकारात्मक हुने संघीय समाजवादी पार्टी नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले बताए । 

आइसिपीमा काम गर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने अनुमति दिने गरेको छ । यद्यपि श्रमिकहरूले श्रम ऐन अनुसार सेवा र सुविधाको तगेदा ट्रान्स नेपालले आफ्नो कामदार नभएको भन्दै पन्छिने गरेको मजदुरहरूले बताएका छन् । अइसिपीमा झन्डै ३ सय मजदुर कार्यरत रहेका छन् । वार्ताबाटै सहमति खोज्ने प्रयास सकारात्मक रहेको समाजवादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलको भनाई छ । 

मजदुरहरूले सम्पूर्ण कामदार तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बिमा गर्नुपर्ने माग राखेका छन् । यस्तै मजदुहरुलाई ठेकेदार प्रथाबाट खटाएर श्रम शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने,बिना श्रम इजाजत विदेशी मजदुर काममा लगाउन नहुने लगायतका ९ बुँदै माग राखेका छन् ।