धनकुटा / स्थानीय उत्पादनलाई विदेशी उत्पादनले स्थान लिँदा स्थानीय उद्योगी मारमा परेका छन् ।
स्थानीय उद्योगमा उत्पादित सामग्रीको कच्चापदार्थ पनि बाहिरबाटै ल्याउनुपर्ने समस्या एकातिर छ भने अर्कातिर विदेशी उत्पादन हाबी हुँदा स्थानीय उद्योगी मारमा परेका छन् । स्थानीय उद्योगीले कच्चापदार्थमा लाग्ने भन्सार र निकासी करमा छुट गराइदिन इन्द्रकुविर ढाका उद्योग छथरजोरपाटीकी सञ्चालिका रविना लिम्बूले माग गरिन् ।
सातौं उद्योग दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा स्वदेशी त्यसमा पनि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने खालको कार्यक्रम ल्याउन सम्बन्धित निकायलाई उनले आग्रह गरिन् । नीतिगत रूपमा नै स्वदेशी उत्पादनलाई प्रयोगमा ल्याउने वातावरण तयार गरिनुपर्ने मोहन बिस्कुट उद्योग धनकुटाका सञ्चालिका मीना श्रेष्ठले बताइन् ।
स्थानीय उद्योगले रोजगारी पनि सिर्जना गरेको र यहाँका स्रोत साधनलाई पनि प्रयोग गरेको अवस्था रहेको बताए । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका तीन दर्जनभन्दा बढी उद्योगी तथा सरोकारवाला सहभागी रहेका थिए । धनकुटामा ६ हजार ८ सय २३ वटा उद्योग दर्ता छन् ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्क चुहानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैङ्क धनकुटा शाखाका प्रमुख केन्दिप श्रेष्ठ, धनकुटा नगरपालिका आर्थिक विकास अधिकृत विकास अधिकारी, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईलगायतले बोलेका थिए । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
































