पाँचथर/ जिल्लाको फिदिम नगरपालिका–६, को एक टोलमा राष्ट्रिय जनगणना २०७८ का लागि सुपरिवेक्षक र गणक नै नपुगेको पाइएको छ ।

विवरण संकलनका लागि खटाइएका गणक २५ कार्तिकदेखि ९ मंसिरसम्म घर–घर पुगेर विवरण संकलन गर्ने भनिए पनि फिदिम–६, को बारमुरे गाउँमा सुपरिवेक्षक र गणक नपुगेको स्थानीय मनकुमार तुम्रोकले बताए ।

‘दश बर्षपछि भएको जनगणनामा सूचीकृत हुने चाहना थियो’ उनले भने ‘तर टोलमा सुपरिवेक्षक र गणक नै आएनन्, हामी अलमलमा परेका छौं ।’ ९ मंसीरसम्ममा खटाइएका गणक आउने भनिए पनि सुपरिवेक्षक र गणक नआएको सोही टोलका हर्क प्रसाद तुम्रोकले बताए ।

उक्त टोलमा दश घरपरिवारको बसोबास छ । यसबारे बुझ्न खोज्दा पहिले टोलको सूचीकरण गर्न छुटेकाले त्यस्तो भएको जिल्ला जनगरणना कार्यालयका प्रमुख मनोज भट्टराईले बताए । उक्त टोलबासीलाई जनगणनामा नछुटाइने पनि प्रमुख भट्टराईले बताए ।

राष्ट्रिय जनगणना जस्तो महत्वपूर्ण र गम्भिर विषयमा सिङ्गो टोल नै छुट्नु सम्बन्धित निकायको चरमल लापरबाही भएको फिदिम–६, का गणेश तुम्रोकले बताए ।