वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडा नं. १ स्थित तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्तालाई १२ घण्टा खानेपानी वितरण गर्न थालेको छ ।

समितिले भर्खरै निर्माण सम्पन्न साढे चारलाख लिटर क्षमताको नयाँ ओभर हेड ट्याङ्कीमार्फत् १२ घण्टा खानेपानी दिन थालेको हो । आइतबार वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल र इटहरीस्थित खानेपानी तथा ढल व्यवस्थापन डिभिजन प्रमुख प्रदीपलाल कर्णले संयुक्त रूपमा ट्याङ्कीको उद्घाटन गरेका थिए ।

नेपाल सरकारको १४ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा ट्याङ्की निर्माण भएको तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर सिग्देलले बताए । नयाँ ट्याङ्की रहेको जग्गामा सहिद स्मृति पार्क स्थापना गरिने अध्यक्ष सिग्देलले बताए । उनले ट्याङ्की बनेपछि उपभोक्ताले साविकको ३ घण्टाबाट बढेर दिनभरि पानी पाउने र  थप ५ हजार ग्राहकलाई पुग्ने बताए ।

हाल भण्डारीटारस्थित २ लाख २५ हजार लिटरको ट्याङ्कीबाट १२ सय ग्राहकलाई पानी वितरण भइरहेको छ । अब ट्याङ्कीको सङ्ख्या बढेर २ भएको छ भने स्टोरेज क्षमता करिब ७ लाख लिटर पुगेको छ । यसैगरी चतराको रामानन्दाचार्य सेवापीठमा बनिरहेको अर्को २ लाख ५० हजार लिटरको ट्याङ्कीको काम अन्तिम चरणमा रहेको सिग्देलले बताए ।

अहिले साविक वराहक्षेत्र गाविसका –१, २, ३, ४ र ६ वडाका केही भागमा पानी  वितरण गरिरहेको समितिले सिंहदेवी र उदय चौक, रेल्वेलाइन, चतराबजार, चतराघाट र बयरवनलगायतका स्थानमा सडकको दुवै किनारबाट पानीको पाइपलाइन विस्तार गरिने समितिले जनाएको छ ।