पथरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रङ्गशालामा भएको ‘जहदा भेट्रानस गोल्ड कप’ प्रतियोगिताको फाइनल खेलको उपाधि आयोजक जहदाले चुमेको छ ।

उपाधिको लागि आइतबार भएको खेलमा हाम्रो इटहरी भेट्रानस एफसीलाई शून्यको विरुद्ध १ गोल गर्दै आयोजक जहदाले उपाधि चुमेको हो । कडा प्रतिस्पर्धा विच खेलको ३८ औँ मिनेटमा आयोजक जहदाले प्लानाल्टी सुटबाट डेनिम राईले १ गोल गरेका थिए ।

हाम्रो इटहरीका जर्सी नंं १५ का नेत्र कुमार श्रेष्ठले डिएरीया भित्र जहदाका जर्सी नं। १४ का श्याम कुमार गोलेलाई लडाएपछि जहदाले प्लानाल्टी सुट गर्ने अवसर मिलेको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टिम आक्रामक देखिए पनि आयोजक जहदाले दबाबमा राखेको थियो । खेलको म्यान अफ द म्याच आयोजक जहदाका भुपेन लिम्बु, घोषित हुँदै नगद २५ सय र ट्रफी पाएका थिए ।

त्यसै गरी अन्य वेस्ट गोल रक्षकमा आयोजक जहदाका राजिन धिमाल, वेस्ट डिफेन्समा बिष्णु सुनुवार, वेस्ट मीड फिल्डमा डेनिम राई, वेस्ट फरवाडमा रमेश गुरुङ, म्यान अफ द टुर्नामेन्टमा नगेनमणी लिम्बु र बढी गोल कर्ता हाम्रो धरान भेट्रानसका जनकराज सुनुवार घोषित भएका थिए । उनीहरूले २५ सय र ५ हजार नगद सहित ट्रफी पुरस्कार पाएका थिए ।

विजेता आयोजक जहदाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् भने उपविजेता हाम्रो इटहरी भेट्रानसले ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले विजेता टिम आयोजक जहदालाई  उपाधि प्रदान गरेका थिए ।

त्यसै गरी उपविजेता टिमलाई किरात धार्मिक वनका अध्यक्ष रामकाजी राईले पुरस्कार प्रदान गरेका थिए । अन्य वडा नं। ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नम्बर ५ का अध्यक्ष चरण गुरुङ, वि एण्ड वि कन्स्ट्रक्सन सञ्चालक भूपाल श्रेष्ठ, जनजागृति सामुदायिक वनका सचिव सपना पुरी, खेल संयोजक डेनिम राई, सहसंयोजक भोजराज श्रेष्ठ, कालीकोशी खानेपानीका अध्यक्ष भोजकुमार राई लगाएतले खेलको विभिन्न विद्याका पुरस्कार वितरण गरेका थिए ।

हाम्रो इटहरी भेट्रानस एफसीमा पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ, लक्ष्मी चौधरी, दिवस राई, श्याम मानन्धर र तीर्थ याक्सो जस्ता पूर्व राष्ट्रिय खेलाडीहरूले खेल खेलेका थिए । त्यसै गरी आयोजक जहदा भेट्रानस एफसीमा पनि पूर्व राष्ट्रिय खेलाडीहरू नगेन्द्रमणी लिम्बु, भूपेन लिम्बु, सन्जीव बुढाथोकी, डेनिम राई, सन्तोष गाउँले, रमेश गुरुङ र पूर्व खेलाडी चरण गुरुङले खेल खेलेका थिए । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतिशील समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो ।