विराटनगर । सवारी दुर्घटनामा परेर युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्का अनुसार विराटनगर महानगरपालिका—४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा. निखिल चढेको प्र—२—०२— ००३—प —२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेपनि असफल भएका थिए । अस्पतालले ११ः४५ मा उनलाई मृत घोषित गरेको थियो । डा. निखिलको मोटरसाइकल लाई ठक्कर दिएको मिनी ट्रक डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी रहेको छ । जनकपुर— ३ स्थानीय घर भएका डा. निखिलले विराट मेढिकल कलेज मोरङबाट एमबीबीस पास गरेका थिए । उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए ।

उनले जनकपुरस्थित मदर टेरेसा पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए । को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो । प्रहरीले शुक्रबार विहान बुढीगंगा—२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

चालक भने अझै फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।